
नेपालगञ्ज । बाँकेबाट सुरु गरिएको कृषिपथ मोवाईल एप्लिकेशनको प्रयोगमा ल्याउन किसानबीच पु्याउन थालिएको छ । शुक्रबार नेपालगञ्जमा आयोजित विकासका लागि सूचना तथा सञ्चार प्रविधि विषयक कार्यशाला गोष्ठीमा कृषकलाई कृषिपथ मोवाईल एप्लिकेशनको विषयमा जानकारी गराईएको छ ।डिजिटल कृषि ज्ञान र अनलाईन बजार प्रणलीको बिस्तार गरी बजार ब्यवस्थापन गर्ने उद्देश्यले कृषक तथा कृषि सहकारीका प्रतिनीधि एवं कृषि ब्यावसायीसँग छलफल गर्नुका साथै प्रयोगात्मक रुपमा अभ्यास गराईएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु कुमारी खड्काको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमशेर राणाले कृषि बजारीकरणमा एप्लिकेशनले सहयोग पुग्ने हुँदा सहकार्यका लागि बाँकेका सबै स्थानिय तह तयार रहेको बताउनुभयो । स्थानीय तहमार्फत कृषि अनुदानका थुप्रै कार्यक्रम रहेपनि वास्तविक कृषक अनुदानको लाभ लिन नआएको बताउनुभयो । कृषिपथ मोवाईल एपले वास्तविक किसान पहिचानमा समेत सहयोग पुग्ने भएकोले किसानको खेत बारीमा रहेको, बाली नाली, तरकारी तथा फलफूल हेरेर अनुदान दिन सहज हुने बताउनुभयो ।
नरैनापुर गाउँपालिकाा अध्यक्ष इस्तियाक अहमद शाह, जानकी गाउँपालिका अध्यक्ष राम निवास यादव, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमाल, नौं वटा कृषि सहकारीका अध्यक्ष एवं प्रतिनीधि, दुई वटा कृषक समुहका प्रतिनीधि, कृषि सहकारी सञ्जाल, एग्रोभेट, तरकारी ब्यावसायी, दुग्ध ब्यावसायीगायतको सहभागिता थियो ।
केयर नेपालको आर्थिक सहयोग एवं भेरी वातावरण्यि विशिष्टता समुह बी ग्रुपको साझेदारीमा नेपाल घरेलु तथा साना उद्योग महासँघ बाँकेले कृषिपथ मोवाईल एप सञ्चालनमा ल्याएको हो । कृषि एप भित्र मौसम पूर्वानुमान, कृषि प्रविधि ज्ञान, अनलाईन कृषि बजार प्रणली, एग्रोभेट तथा कृषि सामाग्री र बिक्रि मूल्यबारे समेटिएको छ । पुस १ गते लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले कृषि एपको बाँकेमा शुभारम्भ गर्नुभएको थियो ।





