
नेपालगञ्ज । जनमत पार्टीले नेपालगन्जको जमुनाहा नाकामा सवारी साधन सहज तरिकाले आउजाउ गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेषसहितको टोलीले आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
कोरोना भाइरस महामारीको जोखिम कम भइसकेकाले नाकालाई सहज बनाउनुपर्ने माग जनमतको छ । गृहमन्त्रालयले समेत भारत र चीनसँग जोडिएका नाकाहरु खुल्ला गरिसकेकाले बाँके प्रशासनले पनि नेपालगन्जको जमुनाहा नाका तत्काल सहज बनाउनु पर्ने माग गरेको थियो ।
जमुनाह नाकामा मानिसहरुलाई आउजाउ गर्न दिइएको भएपनि सवारी साधनमा भने रोक लगाइएको छ । भारतीय सवारी साधन भने निर्वाधरुपमा आउने गरेका छन् । नेपाली सवारी साधनलाई भने भारतीय बजार रुपैडिया समेत प्रवेश रोक छ।
नेपाली प्रहरीले समेत सवारी साधन नाकामै रोकिदिने गरेका छन् । भारतसँग रोजी रोटीदेखि चेलिबेटीसम्मको सम्बन्ध रहेका कारण नाका तत्काल सहज बनाउनुको विकल्प नभएको शेषले बताउनुभयो ।
बाँकेका अधिकांश पुरुषले भारतबाट विहे गरेका छन् भने महिलाले भारतीय पुरुषसँग विहेवारी गरेका छन् । यो बर्षौदेखिको चलन हो र, अहिलेपनि चल्दै आएको छ । विहेवारीका गाडी समेत सहज तरिकाले जान आउन नपाइएपछि जनमत पार्टीले नाकालाई व्यवस्थित र सहज बनाउन सिडियोको ध्यानाकर्षण गराएको हो ।





