
नारायण खड्का, दाङ । दाङ तुलसीपुरका ऋषिश्वर परियारले विश्व कीर्तिमान कायम गर्नुभएको छ । ‘मस्ट जम्पिङ ज्याक इन वन मिनेट’ विधामा उहाँले विश्व कीर्तिमान बनाउनुभएको हो ।
परियारले सन् २०२० को जनवरी ३१ मा उक्त विधाका लागि वर्ल्ड रेकर्डको प्रयास गर्नुभएको थियो । तुलसीपुरको अरनिको मैदानमा परियारले एक मिनेटमा १२३ पटक पिटी जस्तै गरि खेलिने हात खुट्टा दुबै सँगै चलाउने अभ्यास गरि आफ्नो रेकर्ड दाबी गरेर पठाउनुभएको थियो ।
त्यो भिडियो अवलोकन पछि जिनियस वर्ल्ड रेकर्डले ऋषिश्वरलाई उक्त विधाको उपाधिमा उत्कृष्ट घोषित गरेको हो । परियारको नाममा यो रेकर्ड केही दिन अगाडि घोषणा भएपनि त्यसको सूचना उहाँले मंगलबार मात्रै पाएको जानकारी दिनुभयो।
‘म आज निकै खुसी छु, आज एउटा मेरो सपना पुरा भएको छ,’ परियारले भन्नुभयो ‘ब्यक्तिगत रुपमा मेरो मात्रै हैन, मेरो जन्मगाउँ, तुलसीपुर, जिल्ला दाङ र देशको नामसमेत रेकर्ड गर्न सफल भएको छु।’
सामान्य र अति गरिब परिवारमा हुर्किएका परियारले सुरूमा दूई हातले टेकेर हिँड्ने रेकर्डको लागि प्रयास गर्नुभएको थियो । त्यसमा सफल नभएपछि उहाँले गत वर्ष नयाँ बिधामा रेकर्डका लागि अप्लाई गर्नुभयो ।
ज्याला मजदुरी गर्दै जीविका निर्वाह गर्ने परियारका प्रशीक्षक कोही छैनन् । उहाँले स्वःअभ्यासले यो सबै सफलता प्राप्त गर्नुभएको हो । विश्व रेकर्ड बनाउन सफल परियारले अब अन्य नयाँ विधामा समेत रेकर्डका लागि प्रयास गर्ने बताउनुभयो ।





