
बेलभार । बारबर्दिया नगरपालिकामा महिनावारी स्वच्छता व्यवस्थापनका लागि के कस्तो कार्ययोजना निर्माण गर्न सकिने बिषयमा सरोकारवालासंग छलफल गरिएको छ । बिहीबार बारबर्दिया वडा नं ११ स्थित सिम्हा माध्यमिक बिद्यालयमा महिनावरी स्वच्छता व्यवस्थापनका बिषयमा सरोकारवालासंग योजना तर्जुमा गरिएको हो ।
वडा नं ११ स्थित सिम्हा तथा अन्य बिद्यालयहरुमा स्वच्छता व्यवस्थापनका लागि जडान गर्न सकिने अटोमेटिक मेसिनहरु (प्याड निस्कने र जलाउन मिल्ने) हरुको आवश्यकता तथा दिगोपनाका बारेमा छलफल गरिएको थियो । छलफलले किशोरी छात्राहरुलाई बिद्यालयमा टिकाउन र उनीहरुको शैक्षिक क्रियाकलापमा कमि हुन नदिनका लागि मेसिनहरु जडान गर्न आवश्यक रहेकोमा जोड दिइएको छ ।
यस्तै यसले बिद्यालय मै रहेको अवस्थामा हुने महिनावारीलाई व्यवस्थापनमा सहज बनाउने र बिद्यालयमा हुने यस्तो क्रियाकलापले घरमा पनि स्वच्छतातर्फ ध्यान दिन प्रेरित गर्ने कुरामा सहयोग पुर्याउने सरोकारवालाहरुको भनाई छ ।
प्लान इन्टरनेशन नेपाल क्षेत्रीय कार्यलय सुर्खेतको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा बिद्यालयमा संचालित मौनता तोडौंः युवाको अगुवाईमा महिनावारी व्यवस्थापन परियोजना अन्तर्गत आयोजना गरिएको अभिमुखिकरणमा बोल्दै वडा नं ११ का वडा अध्यक्ष बिजय कुमार चौधरीले अन्य बिद्यालयहरुमा समेत यस्ता कुराहरु आवश्यक रहेकोले आगामी बजेटहरुमा अन्य ४ वटा बिद्यालयमा जडान कार्य गर्ने बताउनुभयो ।
यस्तै ठाउँ ठाउँमा यसबारे शन्देशमुलक सूचनाहरुसहित होर्डिङ्ग बोर्डहर राख्नुपर्ने, समुदायमा चेतनास्तर बढाउन आवश्यक रहेकोमा वडा अध्यक्ष चौधरीले जोड दिनुभयो । महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम बारबर्दिया नगरपालिकामै नौलो भएको हुँदा सबैतिर यसको प्रचार प्रसार र महिनावारीलाई सुरक्षित बनाउनमा संघ संस्थाहरुको सहयोग जरुरी भएको बताउनुभयो । उहाँले बारबर्दिया नगरपालिका सबै जनप्रतिनिधिलाई समेत महिनावारी व्यवस्थापन कार्यक्रमबारे जानकारी गराउनुपर्ने धारणा राख्नुभयो ।
योजना तर्जुमा कार्यक्रममा बारबर्दिया नगरपालिका न्यायीक समिति सदस्य राम दुलारी थारु, वडा सदस्य डल्ली बिक, शिक्षक अभिभावक संघका अध्यक्ष चुदेरा चौधरी, बाल क्लब, महिनावारी स्वच्छता व्यवस्थापन समूह, प्रधानाध्यापक एव शिक्षकहरु र युवा क्लबका पदाधिकारीको उपस्थिति रहेको परियोजना अधिकृत संजिता तिवारीले जानकारी दिनुभयो ।





