राप्ती सोनारी गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन

कुसुम । तेह्रौं राष्ट्रपति कप रनिङ शिल्ड छनौट तथा तेस्रो राप्तीसोनारी गाउँपालिका स्तरिय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०७७ शनिबारबाट सञ्चालनमा आएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम लौकीस्थित सिद्देश्वर महादेव माध्यामिक बिद्यालयको प्राङ्गणमा उक्त प्रतियोगिता संचालनमा आएको हो । राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा सिद्देश्वर महादेव माध्यामिक बिद्यालय लौकीको सञ्चालन तथा व्यवस्थापनमा प्रतियोगिता गरिएको हो ।

प्रतियोगिताको राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम प्रमुख अतिथी लाहुराम थारुले उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले राप्तीसोनारी गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिइरहेको बताउनु भयो । ‘शिक्षाका लागि हामीले कहाँनिर के भुमिका खेल्नुपर्छ, हामी जहिले पनि तयार छौं,’ उहाँले भन्नुभयो ‘हामीले शिक्षालाई पहिलो प्राथमिकता राख्दा राख्दै पनि अझै धेरै काम गर्न बाँकी छन् ।’

राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र ५४ वटा सामुदायिक, १८ वटा निजी तथा २ वटा मदरसा बिद्यालय रहेको जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नो बजेटबाट शिक्षा क्षेत्रमा गरेको लगानीको प्रचार धेरै नगरेको बताउनु भयो । शिक्षा क्षेत्रको सुधारका लागि ब्यवस्थापन र नीतिगत रुपमा नेतृत्व गर्न तयार रहेको धारणा राख्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी एवम् पुर्वमन्त्री प्रेमबहादुर भण्डारीले शिक्षा क्षेत्र सम्वेदनशिल रहेकाले यसको सुधारका लागि सरकारको चासो र चिन्ता अपरिहार्य रहेको बताउनु भयो । विशिष्ट अतिथी एवम् राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले खेलकुदमा महिला सहभागिता बढ्दै गएकोमा खुसी ब्यक्त गर्नुभयो । स्वास्थ्यका लागि खेलकुद अति आवश्यक रहेकोमा जोड दिदै उहाँले यसका लागि गाउँपालिकाले विशेष प्राथमिकता दिइरहेको बताउनु भयो ।

गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले बालबालिकाले शैक्षिक क्रियाकलापका साथै खेलकुदमा आफ्नो प्रतिभा प्रस्तुत गर्न जरुरी रहेको बताउनु भयो । उद्घाटन कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, जनशक्ती माध्यामिक बिद्यालय बालापुरका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका सदस्य मोहन गौतम, लक्ष्मी माध्यामिक बिद्यालय मदुईका प्रधानाध्यापक लक्ष्मण आचार्य, कुसुम ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष यमबहादुर खड्का लगायतले मन्तब्य दिनु भएको थियो ।

यही फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राप्ती सोनारी क्षेत्रमा सामुदायिक र सस्थागत गरि कुल ५५ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले एथलेक्टिस, भलिबल खेलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगद, शिल्ड लगायत पुरस्कारको ब्यवस्था मिलाइएको गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिनुभयो ।

Previous articleबाँकेमा टिप्परको आतंक, प्रधानाध्यापकको मृत्यु
Next articleनाटा बाँकेको सभापतिमा अन्सारी चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here