रनिङ शिल्डमा जुट्यो खजुरा

नेपालगन्ज । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा यही फागुन २८ गतेदेखि चैत १ गतेसम्म तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता हुँदैछ ।

जनकल्यान मावि बद्रीपुरमा हुने प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता संचालन तथा व्यवस्थापन समितिको सोमबार बैठक बसेर रनिङ शिल्डलाई भव्य र सभ्य बनाउन उपसमितिहरुलाई सक्रिय बनाउने बताएको छ ।

समितिका संयोजक तथा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको बैठकमा रनिङ शिल्ड संचालन हुने विद्यालय जनकल्यान माविका प्रअ भीमबहादुर थापाले हालसम्म फिल्ड तयारी अवस्थामा रहेको प्राविधिकको सल्लाह अनुसार अन्य तयारी अगाडि बढाइएको जानकारी दिनुभयो ।

विभिन्न १५ उपसमिति निर्माण गरी तयारीलाई अगाडि बढाइएको छ । खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले प्रतियोगितालाई सफल बनाउन सबै जिम्मेवारीमा रहेका समिति र उपसमितिहरु सक्रिय भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

सचिवालय सदस्य यमनारायण महतोका अनुसार खजुरा क्षेत्रका ६५ विद्यालयका करीब ७ सय खेलाडीले सहभागिता जनाउने प्रतियोगितामा विभिन्न ३१ खेलमा प्रतिस्पर्धा गराइने छ । यसपालीदेखि ५० बढी खेलाडीको बिमा समेत गरिने उहाँले जानकारी दिनुभयो ।

Previous articleशिक्षक संगठन बाँकेले मनायो नारी दिवस
Next articleचैत्र ५ गतेदेखि हुने महोत्सवको मिति सर्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here