जिल्लामै पहिलो खजुराको ३ नम्बर वडा बालविवाह मुक्त वडा घोषणा

खजुरा । खजुरा गाउँपालिकाले बाँके जिल्लामै पहिलो पटक आफनो वडा नं.३ लाई बालविवाह मुक्त वडा घोषणा गर्न सफल भएको छ ।

सोमबार १११ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा खजुरामा आयोजित बिशेष समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यमा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गाउँपालिकाको वडा नं.३ लाई बालविवाह मुक्त घोषणा गर्नुभएको हो ।

वडालाई बालविवाह मुक्त घोषणा गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल)ले पालिकामा बालविवाह रोकथाम परियोजना सन्चालन गरि सचेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ ।

त्यसै गरि भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप), बाँके युनेस्को लगायत विभिन्न सामाजिक संस्थाहरुले पनि यो अभियानमा सहकार्य गरि बाल विवाह मुक्त वडा घोषणा गर्न सफल भएको महिला तथा बालबालिका शाखाका प्रमुख सुशिला न्यौपानेले जानकारी गराउनुभयो ।

गाउँपालिकाका अध्यक्ष कक्षपतिले बाँकी ७ वडाहरुलाई पनि चाँडै घोषणा गर्दै गाउँपालिकालाई नै बालविवाह मुक्त घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीवास्तवले जिल्लामै पहिलो पटक बालविवाह मुक्त वडा घोषणा गरेर खजुराले सामाजिक विकासको इतिहास रचेको भन्दै प्रशंंशा गर्नुभयो ।

समाचारको माध्यमबाट बालविवाह रोकथाममा मुख्य भुमिका खेलेको भन्दै अन्नपुर्ण पोस्टका उपसम्पादक शंकर प्रसाद खनाल र द वल्ड नेपाल न्युज डटकमका सम्पादक सोम गुरुङलाई सम्मान गरिएको थियो ।

खजुरा–३ का वडा अध्यक्ष कान्तुराम गौतमको अध्यक्षतामा सम्पन्न बालविवाह मुक्त घोषणा कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, प्लान इन्टरनेशनल नेपालकी कर्णाली प्रदेश संयोजक मीना पराजुली, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे, खजुरा गाउँपालिका कानुनी सल्लाहकार विकास आचार्य, वडा सदस्य देउमाया थापा मगर, लगनशील किशोरी क्लबकी अध्यक्ष मञ्जु थापा मगर लगायतले बाल विवाहविरुद्ध आआफना धारणा राख्नुभएको थियो ।

कार्यक्रमका सहभागीले आफूले बालविवाहविरुद्ध लाग्ने प्रतिबद्धता जनाउँदै हस्ताक्षर पनि गरेका थिए । बालविवाह मुक्त वडा घोषणा हुनु अघि वडा नं.३को कार्यालयबाट ¥याली शुरु गरि खजुरा बजार परिक्रमा गरेर पालिकाको प्रागणमा पुगेर सम्पन्न भएको थियो ।

Previous articleचैत्र ५ गतेदेखि हुने महोत्सवको मिति सर्यो
Next articleनेपालगञ्जमा मेकअप स्टुडियो संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here