उपमहानगरपालिकामा सर्वदलीय बैठक, यातायातलाई जग्गा दिने निर्णय

नेपालगञ्ज :नेपालगञ्ज उप–महानगरपालिकाले यातायात व्यवस्था कार्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराउने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाको अध्यक्षतामा मंगलवार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले नेपालगञ्ज २० गायत्रीनगरमा रहेको करीब १० कठ्ठा ऐलानी जग्गा यातायात व्यवस्था कार्यालयलाई र वडा नम्बर १७ सोल्टी होटल नजिकै रहेको २० कठ्ठा जग्गा कलेज स्थापनाका लागि नाथमलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

सो स्थानमा हिन्दु र मुस्लिम समुदायले धार्मिक प्रयोजनका लागि २÷२ कठ्ठा जग्गा उपलब्ध गराइने भएको छ । गायत्रीनगरमा ऐलानी जग्गामा बसिरहेको परिवारलाई उचित व्यवस्थापन गरिने भएको छ ।

बैठकले भूमिहिन सुकुम्बासी र भूमिहिन दलित तथा अव्यवस्थित बसोबासका लागि क्षेत्र निर्धारण गर्ने विषयमा सहजिकरणका लागि ५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरि नगर प्रमुख राणाको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधी सम्मिलित समिति गठन गरेको उपमेयर उमा थापा मगरले जानकारी दिनुभयाे ।

बैठकमा फल्टेक्रामा क्रिकेट मैदान निर्माणका लागि आवश्यक सहयोग गर्न मेयर राणाले आग्रह गर्नुभयो ।

बैठकमा भूमि सम्बन्धि समस्या समाधान आयोग बाँकेका अध्यक्ष शान्ति ढकाल, नेकपा एमालेका दत्तप्रसाद आचार्य, नेपाली काँग्रेसका तप्त पौडेल र प्रशान्त विष्ट, नेकपा माओवादी केन्द्रका डिल्ली बराल, राप्रपाका नरेन्द्र पौडेल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमाल, वडा नम्बर ५ का वडाध्यक्ष कैफुल बरा, वडा नम्बर ६ का अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर १० का अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर १३ का अध्यक्ष विरेन्द्र शाह, वडा नम्बर १४ का अध्यक्ष ओमकारनाथ मिश्रा, वडा नम्बर १९ का अध्यक्ष परसराम कुर्मी, वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्की लगायतले विभिन्न सुझाव दिनुभएकाे थियो ।

बैठकमा यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख पूर्णबहादुर खत्री र नाथमका विपिन नेपालले जग्गा प्राप्त हुनासाथ भवन निर्माण कार्य शुरु गर्ने बताउनुभयाे ।

Previous articleमहिला लक्षित पत्रकारिता तालिम सम्पन्न
Next articleबाल विवाह बिरुद्ध गाउँ-बिद्यालय अभियान चलाउन आवश्यक !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here