
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ५ मोतिपुरमा शनिबार एक घरमा आगलागी भएको छ । शनिबार साढे ४ बजे लागेको आगलागीले मोतिपुरका पिमे बस्नेतको घर जलेर नष्ट भएको हो ।
घरपरिवारका व्यक्तिहरु बारीमा काम गरिरहेको अवस्थामा अचानक आगलागी भएको स्थानीयले देखेका थिए । आगलागी भएपछि स्थानीय र घरमुलीका सदस्यहरु मिलेर केही सामान मात्र निकाल्न सकिएको छ ।
इलाका प्रहरी कार्यालय भगवानपुरले अनुसार आगलागीबाट घरसंगै घरभित्रको सम्पूर्ण सामानहरु नष्ट भएको जनाएको छ । आगलागी हुँदा करिब दुई लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागी भएको खबर पाउनेबित्तिकै सई मुकुन्द सिग्देलको नेतृत्वमा पुगेको प्रहरी घरमुली, स्थानीयले मिलेर आगलागी नियन्त्रणमा लिएका थिए । नरैनापुर गाउँपालिकामा दमकल (बरुण यन्त्र) भएको भएपनि आगलागी भएको करिब एक घण्टा ढिलो घट्नास्थल पुगेको स्थानीयले बताए ।










