महासंघमा सर्वसहमत नेतृत्व छनोट गर्न युनियनले थाल्यो पहल

नेपालगन्ज । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा सर्वसहमत नेतृत्व छनोटका लागि प्रेस युनियन बाँकेले पहल थालेको छ । यसका लागि युनियनले जिल्लामा क्रियाशिल सबै आस्थागत पत्रकारका संघ, संगठनलाई सम्मानजनक रुपले समेट्ने जनाएको छ । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा शनिबार नेपालगन्जस्थित युनियन कार्यालयमा भएको छलफल सकारात्मक भएको हो ।

महासंघको आसन्न निर्वाचनको सन्दर्भमा विभिन्न आस्थागत संगठनहरु बीच सर्बसहमतिका लागि सकारात्मक छलफल भएको हो । महासंघमा सर्वसहमत छनोट गर्न बाँकेमा कृयाशिल सबै संगठनहरु बीच आगामी दिनमा अझ निरन्तर छलफल र सम्बाद गर्ने निर्णय भएको बैठकपछि युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिनुभयो ।

उक्त बैठकमा उपस्थित पत्रकारका आस्थागत संघ, संगठनका अध्यक्ष तथा प्रतिनिधी लगायतलाई स्वागत गर्दै युनियन बाँकेका अध्यक्ष ओलीले महासंघमा सर्बसहमत रुपमा अध्यक्षसहित कार्यसमिति, पदाधिकारी छनोट गरेर अन्य जिल्लालाई पनि नयाँ सन्देश दिनुपर्ने बताउनुभयो ।

प्रेस चौतारीका केन्द्रिय सदस्य एवम् पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव भेषराज बस्नेतले राजनीतिक आस्था र ब्यक्तिगत टकरावका कारण निर्वाचनमा जाने र पछि पछुताउने अवस्था आउन नदिनका लागि सर्वसहमती नै उत्तम विकल्प भएको बताउनुभयो । प्रेस युनियनका नेता एवम् पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शुक्रऋषि चौलागाईले महासंघ बाँकेमा सर्वसम्मत नेतृत्व चयनका लागि युनियनले गरेको प्रयास सह्रानिय भएको बताउनुभयो ।

प्रेस सेन्टरका केन्द्रिय सदस्य एवम् पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले महासंघलाई साझा चरित्रको संस्था बनाउनका लागि सर्वसहमत नेतृत्व चयन नै उत्तम विकल्प हुन सक्ने धारणा राख्नुभयो। सर्वसहमत नेतृत्व चयनका लागि सबै गम्भिर हुनुपर्ने उनको भनाई छ । तर, यसका लागि विधी तय गर्नुपर्ने वाग्लेले जोड दिनुभयो । युनियनले थालेको पहल एकदमै सकारात्मक भएको समेत उहाँले बताउनुभयो ।

प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिकले सर्बसहमतीको वातावरण बनाउन युनियनले थालेको प्रयास सकारात्मक भएको बताउनुभयो । आफ्नो संगठनले केन्द्रीय निर्णय अनुसार अघि बढ्ने भन्दै उनले सहमती प्रयास पनि जारी राख्ने बताउनुभयो । उक्त छलफलमा युनियनले जिल्लामा क्रियाशिल रहेका पत्रकारका सबै आस्थागत संगठनलाई आमन्त्रण गरेको थियो ।

त्यसअघि शनिबार दिउँसो नै बसेको प्रेस युनियन बाँकेको कार्यसमिति बैठकले पत्रकार महासंघको आसन्न निर्वाचनमा युनियनको अगुवाईमा सर्बसहमत रुपमा नेतृत्व छनोट गर्न पत्रकारका सबै आस्थागत संघ, संगठनसँग छलफल अगाडी बढाउने, महासंघको निर्वाचनका विषयमा छलफल गर्न युनियनको छिट्टै बृहत भेला आयोजना गर्ने निर्णय गरेको थियो ।

Previous articleनरैनापुरको मोतीपुरमा आगलागी एक घर नष्ट (फोटोफिचर)
Next articleप्रतिकुल वयान दिने फरार अभियुक्त पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here