
बेलभार । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ११ स्थित सिम्हा माध्यमिक बिद्यालय बेलभार महिनावारी स्वच्छता व्यवस्थापनका लागि निर्माण गरिएको महिनावारी स्वच्छता व्यवस्थापन कक्षको मेयर दुर्गा बहादुर थारु (कबिर)ले उद्घाटन गर्नुभएको छ ।
बिद्यालयमा संचालित मौनता तोडौं स् युवाहरुको अगुवाईमा महिनावारी व्यवस्थापन परियोजनाको अनुगमनका क्रममा सोमबार महिनावारी व्यवस्थापन कक्षको मेयर थारुले उद्घाटन गर्नुभएको हो ।
महिनावारी स्वच्छता ब्यवस्थापनको कुरा हाम्रो नगरपालिकाको लागि नयाँ मोडल हो मेयर थारुले भन्नुभयो, यसले स्कूलमा पढ्ने प्रत्येक केटीहरूको शिक्षा प्रणालीलाई निश्चित रूपले माथि उठाउँछ। यो परियोजनाबाट हाम्रो नगरपालिकालाई हाम्रो योजना र बजेट बनाउने समयमा सोच्न बाध्य पार्छ ।
यो सानो तर धेरै महत्त्वपूर्ण कुरा छ। मेयर थारुले भन्नुभयो, सिम्हा विद्यालयको प्रगतिले हामीलाई सोच्न बाध्य तुल्याउँछ कि कुन विद्यालयको मोडेल स्कूल हुनुपर्छ । साथै उहाँले यस बिषयमा कार्यबिधि निर्माण गर्नुपर्ने देखिएको बताउनुभयो । विद्यालयहरूको स्वास्थ प्रतिस्पर्धा स्कूलको राम्रो उत्थानका लागि हुनुपर्दछ, उहाँले भन्नुभयो, सिम्हा एक मोडेल नै हुनेछ तर अन्य विद्यालयहरू पनि प्रत्येक क्षेत्रमा मोडेल स्कूलका हिसाबले हुनुपर्दछ ।
प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा बिद्यालयमा संचालित परियोजना अन्तर्गत बालमैत्री शौचालय र महिनावारी स्वच्छता ब्यवस्थापन कक्ष निर्माण गरिएको छ ।
स्वच्छताका सूचकहरुलाई समेट्ने सात झण्डे अवधारणाको जानकारी गराउदै गेरुवाका अध्यष कृष्णजंग शाहले किशोरीहरुलाई अब पढाई छोड्न पर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । महिनावारी भएको बेलामा स्कुलमै आराम गर्न पाउने वातावरण बन्यो ।, अध्यक्ष शाहले भन्नुभयो, बिद्यालय राम्रो भएपछि राष्ट्र बलियो हुन्छ ।
अनुगमन तथा संयुक्त अनुगमनका क्रममा बारबर्दिया नगरपालिका वडा नं ११ का वडा अध्यक्ष बिजय कुमार चौधरी, वडा सचिव पुष्पा बैद्य, ओभरसियर समुन्द्र केसी, गेरुवाका कार्यक्रम संयोजक रामरुप कौशल लगायतको उपस्थिति रहेको थियो ।





