मनोरञ्जन क्षेत्रको न्युनतम मापदण्डका बिषयमा छलफल

नेपालगञ्ज । मनोरञ्जन क्षेत्रको अवस्था बिश्लेषण सहित यस क्षेत्रको ब्यवस्थापनको लागि न्युनतम मापदण्डका बिषयमा गरिएको छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सोमबारबाट सुरु भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो । हाम्रो सम्मान परियोजना अन्तरगत विनरक इन्टरनेशनलको सहयोग माईती नेपालको समन्वय र बिश्वास नेपालको आयोजनामा सो कार्यक्रम संचालन गरिएको हो ।

मनोरञ्जन प्रदान गर्ने उद्देश्यले संचालन गरिएका होटेल, क्यासिनो, कटेज, डान्स बार, दोहरी साँझ रेस्टुरेन्ट लगायत बिभिन्न स्थानहरुलाई व्यवस्थित गर्ने मापदण्डका बिषयमा कार्यक्रममा छलफल भएको थियो ।

पछिल्लो समयमा बिशेषगरि ती स्थानहरुमा काम गर्ने महिला तथा बालबालिकाहरु प्रति गरिने दुव्र्यहार, बिभेदलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड बनाउने बिषयमा छलफल गरिएको बिश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले जानकारी दिनुभयो ।

माईती नेपाल बाँकेका संयोजक केशव कोईरालाले मनोरञ्न क्षेत्रहरुमा महिला तथा बालबालिकाहरुको काम गर्ने संख्यामा बृद्धि हुदैं उनीहरुप्रति जोखिम पनि बढ्दै गएकोले मापदण्ड बनाउनु आवश्यक देखिएको बताउनुभयो ।

उहाँले जोखिम बढदैं जादा मानव बेचबिखनलाई बढावा मिल्ने बताउनुभयो । दुई दिनसम्म चलेको छलफलबाट मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन, सुरक्षित बनाउन, त्यहा हुन सक्ने बिकृति हटाउन र सबै जना जान सक्ने बातावरण निर्माणका लागि कार्ययोजना पनि बनाईएको छ ।

विनरककी कमला पन्तले छलफल पश्चात बनाईएको कार्ययोजनालाई स्थानीय तहमा कार्याल्वयन गर्नुपर्ने धारणा राख्नुभयो । बिमल भेटवाल, दिर्घराज उपाध्याय, शिवराज रिजालले सहजीकरण गर्नुभएको कार्यक्रममा करिब ४५ जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा बाँकेका खजुरा गाँउपालिका, बैजनाथ गाँउपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उप–उपमहानगरपालिका तथा बर्दियाको बढैयाताल गाँउपालिका, मधुबन नगरपालिका, गुलरिया नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कर्मचारी, प्रहरी, जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Previous articleमेयर (कबिर)द्धरा महिनावारी स्वच्छता ब्यवस्थापन कक्ष उद्घाटन
Next articleकरमोहना गुठीको समस्या समाधान, जग्गाको कारोबार खुल्ला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here