
नेपालगञ्ज । हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियानको शुभारम्भ गरिएको छ । यही चैत्र २० गतेदेखि अभियान शुरु हुने भएपनि बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले संयुक्त रुपमा औषधी सेवन गर्दै आभियानको शुभारम्भ गर्नुभएको हो ।
स्वास्थ्य कार्यालय बाँकेमा बिहीबार औषधी सेवन गर्दै उहाँहरुले ओषधी सेवन गर्न आम मानिसहरुलाई आग्रह गर्नुभयो । औपचारिक रुपमा शुक्रबारबाट अभियानको शुरुवात हुने भएपनि जिल्लाको प्रमुखले औषधी खाएर सबैले सेवन गर्नुपर्छ भन्ने शन्देश दिइएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, पत्रकार झलक गैरै लगायत बिहीबार २४ जनाले हात्ती पाईले बिरुद्धको औषधी सेवन गर्नुभएको हो । आठ वटा स्थानीय तह रहेको जिल्लामा सतप्रतिशत औषधी सेवन गराउने पालिकालाई जिल्ला समन्वय समितिको कोषबाट २५ लाख पुरस्कार दिइएको समन्वय समिति बाँकेका प्रमुख श्रीवास्तवले प्रतिबद्धता जनाइएसक्नुभएको छ ।
उपमहानगरपालिकामा मात्रै यस वर्ष १ लाख ६६ हजार ८ सय ८६ जना लक्ष्य लिइएको छ भने बाँके जिल्लामा ५ लाख ७६ र ७६ जनालाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको छ ।
अभियानमा यस पटक ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वंयसेवक खटिन लागेका छन् ।
गर्भवती, सुत्केरी र सिकिस्त विरामी बाहेक २ वर्षमाथिका सबैलाई औषधि खुवाउने लक्ष्य छ । बाँके सहित १२ जिल्लामा आम औषधि सेवन कार्यक्रम संचालन हुन लागेको हो । बाँकेमा २०६७ सालदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको हो ।





