
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ का सुनिल सिंह ठकुरीले मोटरसाईकल मर्मतको काम गर्नुहुन्छ । उहाँलाई आफुले गरिरहेको व्यवसायलाई ठुलो बनाउने सपना छ । दैनिक बिहानदेखि बेलुकासम्म पसलमा आउने मोटरसाईकलको मर्मत, सम्भारको काम गर्नुहुन्छ । यसमा उहाँ सन्तुष्ट पनि हुनुहुन्छ । अहिले दैनिक हजार बढि आम्दनी समेत गर्नुहुन्छ ।
तर केही समय अघि जति बेला देशभर लकडाउन थियो । मान्छेलाई कोरोनाको डरले घरबाहिर निस्कन दिइरहेको थिएन । त्यतिबेला भने सुनिललाई आर्थिक व्यवस्थापनमा एकदमै गाह्रो भएको थियो । कारण थियो देशभर लकडाउन र काम गर्ने मालिकले बन्दी समयको पैसा दिन नसकेकोले उहाँलाई समस्या भएको थियो ।
त्यतिबेला सुनिल नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ सुर्खेतरोड स्थित एक मोटरसाईकल पसलमा मर्मतको काम गर्नुहुन्थ्यो । दिनभरी पसलमा काम गरेबापत उहाँलाई साहुले सिमित पैसा दिइन्थ्यो तर त्यक्ति पैसाले उहाँलाई घर खर्च चलाउन गाह्रो हुन्थ्यो, तर पनि उहाँले आफ्नो कामलाई निरन्तरता दिनुभएको थियो ।
तर कोरोनाको महामारी शुरु भएपछि देशभर लकडाउन हुन थाल्यो, कार्यालयदेखि व्यापार व्यवसाय सबै चौपट हुन थाल्यो, जसले गर्दा साहु, मालिकले कोरोना कालमा व्यवसाय बन्द भएको समयको पैसा आफ्ना कर्मचारीलाई दिन असमर्थता जनाए । त्यही समय आफुलाई सारै गाह्रो भएको सुनिलले बताउनुभयो ।
त्यतिबेला सृजना भएको समस्याले उहाँलाई आफ्नै केही गर्नुपर्ने भन्ने पनि प्रेरणा दियो । त्यही प्ररेणाकै कारण आज उहाँले आफ्नै व्यवसाय संचालन गर्न सक्नुभएको छ । हो, त्यो प्रेरणा नभएको भए अहिले म आफनो व्यवसाय गर्नुपर्छ भन्ने सोँच नै आउँदैनथ्यो होला, सुनिल भन्नुहुन्छ । उहाँले अहिले आफ्नै घरमा मर्मत, सम्भारको काम गर्दै आउनुभएको छ, त्यसमा पनि उहाँले घरमै बसेर रोजगारलाई निरन्तरता दिन सक्नुभएको छ । यो कुरालाई उहाँ आफैले यस्तो गर्छु भन्ने बिश्वास नै थिएन । यसले उहाँलाई आत्मनिर्भर समेत बनाएको छ ।
यी माथि एउटा प्रतिनिधिमुलक पात्र मात्रै हुन लकडाउनले धेरैलाई आफ्नै व्यवसाय, सीप सिकेर केही गर्नुपर्छ भन्ने प्रेरणा प्रदान गरेको छ । त्यसमाध्य नेपालगञ्ज वडा नं १३ कै आरती केवट र पुजा केवटले सिलाई कटाई व्यवसाय तथा कास्मेटिक पसल संचालन गर्दै आउनुभएको छ भने नेपालगञ्ज १८ कारकाँदोमा सन्जय कुमार नाउँले कपाल काट्ने पसल संचालन गर्नुभएको छ । त्यस्तै नेपालगञ्ज १० मा कृष्ण शाहीले इलेक्ट्रोनिक्सको काम गर्दै आउनुभएको छ भने नेपालगञ्ज ६ राम बाबु बैश्यले फलफुल पसल संचालन गर्दै आउनुभएको छ ।
यस्तै नेपालगञ्ज १२, कोरियनपुरमा दन्ने पठानको साईकल पसल पनि संचालन भएका छन् । जहाँ इच्छा त्यहाँ उपाय भने झै नै मानिसले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने कुरालाई यी माथिका पात्रहरुले पुरा गरेका छन् । यो उहाँहरुले आफुले गर्न चाहेको काम गर्न सक्नुभएको छ । उहाँको इच्छा भएपछि नै यी कुरा सम्झव भएको हो । उहाँहरुलाई नेपालगञ्जमा रहेको सामाजिक बिकास मञ्च (एस डिएफ) उपाय दिएको हो ।
उहाँहरुको इच्छा अनुसार उहाँहरुलाई सिप सिकाएर, आफ्नै व्यवसाय, रोजगार गर्नका लागि संस्थाले आवश्यक सहयोग तथा छात्रबृति समेत प्रदान गरेको थियो । त्यही कुराको सहयोगले नै उहाँहरु उदाहरणको पात्र बन्न सक्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सरोकारवाला टोलीले उहाँले गरेको कामको गरेको अनुगमनबाट उहाँहरु उदाहरणीय रहेको देखिएको हो ।
जिल्ला समन्वय समिति, नेपालगञ्ज उपमहानगरपालिका सामाजिक बिकास शाखा, नेपालगञ्ज उद्योग बाणिज्य संघ, नगर शिक्षा समितिका एक टोलीले उनीहरुको कामको अनुगमन गरेको थियो । अनुगमनका क्रममा माथि देखिएका उदाहरणीय पात्रसंगै छात्रबृति सहयोग गरिएका बालिकाहरुको अवस्थाको बारेमा समेत अनुगमन गरिएको मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो । त्यस अन्तर्गत शिक्षा क्षेत्र र जीवीकोपार्जन समूह गरेर दुई क्षेत्रको अनुगमन गरिएको थियो ।
मञ्चले सन २०१६ देखि नेपालगञ्जमा सेफ द चिल्ड्रेनको सहयोगमा युवा शसक्तिकरण बुलगारी परियोजनामार्फत युवाहरुलाई स्वरोजगार बनाउने, सीप सिकाउने, बिभिन्न उद्यमहरु संचालनमा सहयोग तथा शिक्षा आर्जनका लागि छात्रबृति सहयोग दिने जस्ता कार्यहरु गर्दै आएको छ । सो परियोजनाले धेरे युवालाई रोजगार बनाएको पनि देखिएको छ ।






