
नेपालगञ्ज । बाँकेमा चालु वर्षको ६ महिनामा ५३ जना केष्ठरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको पुष मसान्तभित्र जिल्लामा ५३ जना नयाँ केष्ठरोगी फेला परेका हुन ।
फेला परेका कुष्ठरोगीमध्ये सबैभन्दा बढि नेपालगञ्ज उपमहानगरपालिकामा देखिएका छन् । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग, कुष्ठरोग अधिकृत मानव नेपालीका अनुसार नेपालगञ्जमा १४ जनामा कुष्ठरोग देखिएको छ ।
यस्तै दोस्रो बढि देखिनेमा जानकी गाउँपालिका रहेको छ । यहाँका १० जनामा कुष्ठरोग देखिएको हो । यस्तै नरैनापुर गाउँपालिकामा ७ जना, खजुरा गाउँपालिकामा ६ जना, कोहलपुर नगरपालिकामा ५ जना र बैजनाथ गाउँपालिकामा ५ जना तथा डुडुवा गाउँपालिकामा ५ जना भेटिएका छन् भने राप्तीसोनारी गाउँपालिकामा १ जनामा देखिएको छ ।
जिल्लामा कुष्ठरोगको प्रकोप दर १ दशमलव ७२ प्रतिशत रहेको अधिकृत नेपालीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा जिल्लामा १३३ जना कुष्ठरोगी देखा परेका थिए । गतवर्ष सबैभन्दा बढि जानकी गाउँपालिकाका ३३ जनामा देखिएको थियो ।
स्वास्थ्य कार्यालय बाँके, लेप्रोसी मिसन नेपाल, युके एड र साईनिङ्ग अस्पताल (आई एन एफ) को संयुक्त रुपमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा उक्त तथ्य प्रस्तुत गरिएको हो । सो तथ्य अनुसार साईनिङ्ग अस्पतालमा मात्रै १४५ जना कुष्ठरोगी फेला परेका छन् ।
फेला परेका सबै अस्पतालमा आफै चेकजाँजका लागि आएकाहरु हुन । उनीहरुमध्ये बाँकेका ५९ जना, बर्दियाका ३९ जना र भारतका २० जना छन् । कुष्ठरोगका बिरामीहरुले नियमित औषधीको सेवन नगर्दा र लापरवाही गर्दा झन बढ्दै गएको देखिएको छ ।
यो रोग औषधीको पहिलो डोजमार्फत नै ९९ प्रतिशत किटाणु मार्ने गरेको र पछि पछि सेवन गर्ने औषधीले बाँकी बचेका किटाणुहरु बिस्तारै नष्ट गर्दै जाने अधिकृत नेपालीले बताउनुभयो ।
यो रोग सर्ने सम्भावना कम हुने भएकाले समाजमा रहेको भेदभाव लाच्छनालाई निराकरण सबैको सक्रिय हुनुपर्छ । अभिमुखिकरणमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, आई एन एफ अस्पतालका परियोजना तथा अस्पताल प्रबन्धक श्याम बिक, प्रशासन अधिकृत नरेन्द्र साउद र बरिष्ठ पारा वर्कर पदम बुढा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य मापदण्ड अपनाइएको थियो ।





