
युनिक श्रेष्ठ, काठमाडौं,
महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौंको सिनामंगलस्थित एक ल्याबमा छापा मार्यो । प्रहरीलाई सूचना थियो, ल्याबले बिना स्वाब कोरोना भाइरस संक्रमणको पिसिआर रिपोर्ट दिँदैछ ।
नेपालबाट विदेशिएका मानिसहरूको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ देखिए पनि उता पुग्दा पोजेटिभ देखिन थालेको कुरा बाहिरिन थालेको थियो । यो कुरा आएपछि महाशाखाले अनुसन्धान अघि बढाएको महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो ।
‘नेपालमा नेगेटिभ रिपोर्ट देखाएर विदेश गए । त्यहाँ पुगेपछि कसैकसैको रिपोर्ट पोजेटिभ देखियो । राष्ट्रकै बेइज्जत हुनेभयो । नेपालमा गरेको पिसिआरलाई मान्यता नदिने कुराहरू पनि सुनिन थाल्यो,’ रेग्मीले भन्नुभयो, ‘हामीले पनि अरू विशेष सूचना पाइरहेका थियौं ।’
त्यसरी नक्कली पिसिआर रिपोर्ट बनाएर दिन थालेको कुरा आएसँगै पछिल्लो केही दिन यसमा केन्द्रित भएर सूक्ष्म तरिकाले प्रहरीले अनुसन्धान अघि बढायो । त्यसै अन्तर्गत सिनामंगलको सुरिया हेल्थ केयर प्रालिले नक्कली रिपोर्ट बनाउने गरेको कुरा खुल्यो ।
सो सूचनापछि महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीको नेतृत्वमा मंगलबार टोली खटियो । स्वास्थ्य मन्त्रालयको प्रतिनिधि पनि सहभागी भए । टोलीले छापा मार्दा मार्दै चार वटा रिपोर्ट हात पार्यो । जसको स्वाब नै संकलन गरिएको थिएन । स्वाब नै नदिई प्रत्येक व्यक्तिबाट नौ हजार लिएर ठिक पारेको रिपोर्ट प्रहरीले बरामद गरेको हो ।
त्यसपछि प्रहरीले यस ल्याबका सल्लाहकार केपी सिंहलाई नियन्त्रणमा लिएको छ । डिएसपी रेग्मीका अनुसार पक्राउ परेका सिंह कान्तिपुर अस्पतालका प्रमुख समेत हुनुहुन्छ ।
प्रहरीका अनुसार ल्याबका अध्यक्ष भने भारतीय नागरिक सिपी श्री कुमार हुनुहुन्छ । उहाँ भने अहिले भारतमै रहेको प्रहरीले जनाएको छ । त्यस्तै, ल्याबमा काम गर्ने अन्य पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले पैसा दिएर दुई घण्टाभित्रै रिपोर्ट बनाइदिने गरेको डिएसपी रेग्मीले बताउनुभयो ।
रिपोर्ट बनाएपछि पनि उनीहरूले घरसम्मै आएर पुर्याइदिने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । ‘आवश्यकता अनुसार उनीहरूले पैसा लिने गर्थे । यदि तपाईं आज राति विदेश जाँदै हुनुहुन्छ भने पिसिआर रिपोर्ट छिट्टै चाहियो । अब त्यो ल्याबमा सम्पर्क गर्यो भने उसले दुई घण्टामै तपाईंको घरमा पुर्याइदिन्छ,’ डिएसपी दुर्गा रेग्मीले भन्नुभयो, ‘उनीहरूलाई तपाईंले आफ्नो नाम, ठेगाना, उमेर पैसा पठाएपछि पुग्ने रहेछ । वा उसैले मान्छे पठाइदिनू भन्ने रहेछ ।’
यसरी कयौंले रिपोर्ट बनाएर बाहिरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । यद्यपी अहिले नै कति जनाले त्यसरी रिपोर्ट बनाएको नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले यो ल्याबसँगै अरूमा पनि यस्ता काम भएरनभएकोबारे अनुसन्धान अघि बढाएको छ ।
यहाँबाट रिपोर्ट कतिले लिए अहिले नै खुलेको त छैन । तर अनुसन्धानपछि थप कुरा आउला, डिएसपी रेग्मीले भन्नुभयो । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणको परीक्षण गर्दा दुई हजार रुपैयाँ लिन भनेको छ। त्यस्तै, सामान्य रूपमा रिपोर्ट आउन पनि चारदेखि पाँच घण्टा लाग्ने गर्छ ।
सुरिया हेल्थ केयरले पिसिआर परीक्षण पनि गर्ने गरेको तर हतारमा भएकाहरूलाई अलि बढी पैसा लिएर स्वाब बिना नै रिपोर्ट बनाउने गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।





