
नेपालगन्ज । बाँकेमा अहिले कोरोना महामारीका कारण संक्रमितले जिल्लाका मुख्य अस्पताल भरिएका छन् । सोही अवस्थामा नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि पुगेको छ । साबिकको मध्य तथा सुदुरपश्चिम क्षेत्रकै रेफल सेन्टरका रुपमा रहेको भेरीमा अहिले संक्रमित राख्ने ठाउँ छैन । बिरामीका लागि बेड पनि छैन र आवश्यक अक्सिजन पनि अभाव भएको छ ।
यता जिल्लामा संक्रमितको संख्या बढ्ने क्रम जारी नै छ । कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न नसक्ने अवस्था सृजना भएको छ ।
यही अपठ्यारो समयमा जिल्लाका एक वडा अध्यक्षले नमूना कार्य गरेका छन् । जताजतै कोरोना महामारीकै कारण स्थिति भयवाह बनिरहेको अवस्थामा अस्पतालमा आवश्यक अक्सिजनका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले सहयोग गरेर नमूना उदाहरणीय कार्य गर्नुभएको छ । वडा नम्बर ४ का वडाध्यक्ष सफिक बेहनाले दुई सय सिलिण्डर अक्सिजन भेरीलाई सहयोग गर्नुभएको हो ।
वडाध्यक्ष बेहनाले अस्पतालमा अक्सिजनको अभाव कम हुने र कोरोना संक्रमितलाई राहत हुने भएकाले शुक्रबार सहयोग गर्ने घोषणा गरेसंगै भेरीलाई २०० सिलिण्डर अक्सिजन हस्तान्तरण गर्नुभएको छ । उहाँले कोरोना विरुद्धको लडाइँमा मनकारीहरुलाई सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।





