
नेपालगञ्ज । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपालको सीमा क्षेत्रमा होल्डीङ संचालन हुने भएको छ । होल्डीङ सेन्टर संचालनका लागि शनिबार साँझ जमुनाहामा तयारी शुरु गरिएको छ ।
तयारी शुरु गरिएको होल्डीङ सेन्टर आइतबारबाट संचालन हुने जनाइएको छ । डब्लु एफ पि वाट प्राप्त भएको सय जना बढि अट्ने टेन्ट जडान गरिएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
होल्डीङ सेन्टरमा बस्नेहरुका लागि बाबा जय गुरुदेव बाँकेले खानाको व्यवस्थापन गर्ने, भेरी संयुक्त यातायात समितिहरुले पानीको व्यवस्थापन गर्ने भएका छन् । निर्माण गरिएको होल्डीङ सेन्टरको शनिबार साँझ नै नेपालगंज उपनगरपालिका उप प्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहितका सुरक्षा प्रमुखहरुले अनुगमन समेत गर्नुभएको छ । 





