अफगानिस्तानमा रहेका सैनिक फिर्ता अमेरिकाले थाल्यो औपचारिक पक्रिया

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना बाँकी सैनिक फिर्ता लैजाने प्रक्रिया औपचारिक रुपमा सुरु गरेको छ । राष्ट्रपति जो बाइडेनले अमेरिकाको सबैभन्दा लामो युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने भन्दै आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा बाँकी रहेका सैनिक फिर्ता लैजाने घोषणा गर्नुभएको थियो ।

यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग गरेको सम्झौता अनुसार अमेरिकी सैनिक फिर्ता लैजाने मिति मे १ लाई तोकिएको थियो । तर बाइडेन प्रशासनले सो समयसीमा कार्यान्वयका हिसाबले उपयुक्त नभएको भन्दै सेप्टेम्बर ११ लाई सारेको हो ।

संयोगले सो मिति सन् २००१ को सेप्टेम्बर ११ मा तीन हजार मानिसको ज्यान जाने गरि अमेरिका ट्वीन टावरमा भएको आतंकवादी आक्रमणको २० औँ वर्षगाँठसँग मेल खाएको छ।

सेप्टेम्बर ११ को सो आक्रमणपछि अमेरिकी सैनिकले अफगानिस्तानमा तालिबान विरुद्ध आक्रमण सुरु गरेको थियो । आतंकवादी आक्रमणका लागि जिम्मेवार अल कायदाका नेता ओसामा विन लादेनलाई संरक्षण दिएको तालिबान विरुद्ध अमेरिकाले थालेको सो युद्ध हालसम्म जारी रहेको हो ।

झण्डै २० वर्षपछि अमेरिका तथा उसका सहयोगीसहितको नेटोमा आवद्ध सैनिकहरु पूर्ण रुपमा फिर्ता गर्ने प्रक्रिया सुरु भएको हो । अमेरिकाले सैनिक फिर्ता लैजान थालेपछि फेरि हिंसात्मक गतिविधि बढ्ने जोखिम थपिएको भन्दै चिन्ता पनि व्यक्त हुने गरेको छ ।

पछिल्ला दिनमा अफगानिस्तानमा घातक आक्रमणको क्रम पनि बढेको छ। तर अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो युद्ध अन्त्य गर्ने र आफ्ना सैनिकलाई घर बोलाउने बेला आएको बताउनुभएको छ । अफगान राष्ट्रपति अशर्फ घानीले पनि आफ्नो सुरक्षा बल देशको सुरक्षा र शान्ति स्थापनाका लागि सक्षम रहेको बताउनुभयो । तर सर्वसाधारणमा भने तालिबान कालको खराब समय फर्किने हो कि भन्ने चिन्ता कायम छ ।

Previous articleपोखरेल नै मुख्यमन्त्री बन्ने एमाले संसदीय दलको निर्णय
Next articleनेपालगञ्जले थप सय बेडको आइसोलेशन सेन्टर निर्माण गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here