
नेपालगञ्ज । बढ्दो बिरामी र अवस्थालाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले अक्सिजन सहितको थप सय बेडको आइसोलेसन सेन्टर निर्माण गर्ने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा आइतबार बसेको स्वास्थ्यकर्मी र सरोकारवालाहरुको संंयुक्त बैठकले अक्सिजन सहितको थप सय बेडको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय गरेको छ । मेयर डा.धवल शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले सरोकारवाला लगायतसंग छलफल यस्तो निर्णय गरेको हो ।
बाँकेमा बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको र अस्पतालमा भौतिक पुर्वाधारको अभाव हुनसक्ने भएको हुँदा थप सय बेडको आइसोलेशन सेन्टर निर्माण गर्न सबैको साझा निर्णय भएको नेपालगञ्जकी उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो ।
‘आइतबार छलफल गरेर थप सय बेडको आइसोलेशन सेन्टर निर्माण गर्ने निर्णय भएको छ,’ उपमेयर थापाले भन्नुभयो, ‘नेपालगञ्जस्थित बाल मन्दिरमा सो सेन्टर बनाउने कुरामा सहमति छ ।’
बाल मन्दिरको आइतबार नै अनुगमन गरेर सोमबार पुन बैठक बसी आइशोलेशन सेन्टर निर्माणको कुरामा छलफल भएको उहाँले बताउनुभयो । उपमहानगरपालिकालले यसअघि नेपालगञ्ज रामलीला मैदानस्थित तालिम भवनमा ५० बेडको अक्सिजनसहितको आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ ।





