
सरकारले विवादस्पद आरडिटी परीक्षणलाई बन्द गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’ का अभियन्ताबीच भएका १२ बुँदे सहमतिमा र्यापिड टेस्ट स्थगित गर्ने उल्लेख छ ।
सहमति भएपछि अभियन्ता ईशान ई र पुकार बमले अनसन तोडेका छन् । मन्त्रालयले अब सबैको पिसिआर विधिबाट मात्र परीक्षण गर्नेछ । सरकारले आरडिटी परीक्षण प्रयोगमा ल्याएदेखि नै यो विवादित बनेको थियो । विज्ञहरूले समेत विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको भन्दै आरडिटी प्रयोग नगर्न सुझाएका थिए ।
मन्त्रालयले भने अन्य देशले पनि प्रयोग गरिरहेको भन्दै आरडिटी परीक्षणलाई निरन्तरता दिँदै आयो । मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म ३ लाख १२ हजार जनाको आरडिटी परीक्षण गरिएको छ । यस्तै, पिसिआर परीक्षण २ लाख ५५ हजार जनाको गरिएको छ ।
परीक्षणको गुणस्तर अध्ययन गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मन्त्रालयलाई आरडिटी किट संक्रमण पहिचानको लागि प्रयोग नगर्न सुझाएको थियो । परिषद्ले यो किट संक्रमण निगरानीको लागि मात्र प्रयोग गर्न सिफारिस गरेको थियो । परिषद्ले समेत त्यस्तो सिफारिस गरे पनि मन्त्रालयले आरडिटी परीक्षणलाई स्थगित गरेन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसदमा आरडिटी परीक्षण विश्वसनीय नभएको भन्दै बन्द गर्न सरकारसँग माग गरेको थियो । सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएन बरु आरडिटी परीक्षणलाई व्यापक बनाउँदै गयो ।
अहिले भने मन्त्रालयले आरडिटी परीक्षण बन्द गर्ने सहमति जनाएको छ । ‘इनफ इज इनफ’ का अभियन्ताहरूसँग भएको उक्त सहमति पत्रमा क्वारेन्टिनमा रहेका व्यक्तिहरूको अनिवार्य पिसिआर परीक्षण गरेर नेगेटिभ आएमात्र घर पठाउने उल्लेख छ ।
यसअघि मन्त्रालयले ‘कोभिड-१९ टेस्टिङ’ सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै क्वारेन्टिनमा रहेकाको लक्षण देखिए मात्र पिसिआर परीक्षण गर्ने जनाएको थियो । लगत्तै विज्ञहरूले कोरोनाका अधिकांश बिरामीमा लक्षण नदेखिएको भन्दै सो निर्देशिकाले संक्रमित पनि परीक्षण हुनबाट बञ्चित हुने र त्यसले थप संकट आउनसक्ने चेतावनी दिएका थिए ।
अहिले भएको सहमतिमा भने मन्त्रालयले क्वारेन्टिनमा भएको मात्र हैन लक्षण नदेखिएका व्यक्तिको पनि परीक्षण गर्ने जनाएको छ । जोखिममा रहेकाहरूको (लक्षण भएका वा नभएका) राज्यको नीति अनुसार परीक्षणको व्यवस्था गर्न हालको निर्देशिकालाई यसै हप्ताभित्र परिमार्जन गर्ने,’ सहमति पत्रमा उल्लेख छ ।
त्यस्ता जोखिममा रहेका व्यक्तिहरू विदेशबाट फर्किएका, संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वासको समस्या देखा परेका, ज्वरो आएका र स्वाद वा गन्ध शक्ति हराएका व्यक्तिलाई मानिएको छ । सेताेपाटी





