
धनगढी । भारतीय पक्षले सशस्त्र सुरक्षाकर्मीसहित नेपाल प्रवेश गरि कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग निर्माणमा अवरोध गरेको छ । भारतीय अधिकारीहरूले सशस्त्र एसएसबीको जत्थासहित कञ्चनपुरको बेलौरी स्थित हुलाकी सडक निर्माण स्थलमै आएर निर्माणमा अवरोध गरेको स्थानीयले बताएका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८, पचुई क्षेत्रमा भारतीय पक्षले अनावश्यक विवाद गर्दै हुलाकी सडक कालोपत्रेको काम अवरोध गरेको हो । बेलौरीका स्थानीय शिक्षक विवेक लम्सालले भारतीय पक्षले दादागिरी शैलीमा नेपाली भूमिमै आएर हुलाकी सडक निर्माण कार्यमा अवरोध गरेको बताउनुभयो ।
भारतीय अधिकारीहरूले निर्माण कम्पनीलाई काम नगर्न धम्की समेत दिएको उनले बताएका छन् । सडक निर्माण कम्पनीका संचालक चक्र शाहले भारतीय अधिकारीहरूले सो सडकखण्डमा काम नगर्न दबाव दिएका कारण काम रोकिएको बताउनुभयो ।
भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर भन्दै अनावश्यक विवाद झिक्दै आएको छ । गत वर्ष सो सडकमा ग्राभेलिङ गर्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो । भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी राजमार्गबारे भारतीय पक्षसंग वार्ता गरिने बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले बताउनुभयो ।





