त्रिभुवन चोकको एक खाद्यान्न पसललाई कारवाही, २० हजार जरिवाना

नेपालगञ्ज । लामो समय देखि निषेधाज्ञा जारी रहेको बाँकेमा अत्यावश्यक खाद्य वस्तुको मुल्य वृद्धि भइरहेको आम गुनासोकाबीच शनिबार बजार अनुगमन टोलीले नेपालगञ्का केही पसललाई कारवाही गरेको छ ।

नेपालगञ्जको त्रिभुवन चोकस्थित मारुति नन्दन आर्डर एण्ड सप्लायर्सले अनुचित व्यावसायिक क्रियाकलाप गरेको पाइएकाले कारवाही स्वारुप २० हजार रुपैयाँ जरिवाना तिराएको हो । यस्तै अनुगमन टोलीले २८ हजार ८ सय ८० रुपैयाँ बराबरको उपभोग्य म्याद समाप्त भएका खाद्य सामग्री नष्ट गरेको छ ।

लकडाउनको मौकामा बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सृजना हुन सक्ने र मुल्य वृद्धि गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बजार अनुगमनलाई तीव्रता दिइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सुचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।

बजार अनुगमनकै क्रममा केहि दिन अघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन मापन गर्ने अक्सिमिटरको एमआरपी केरमेट गर्ने र उपभोक्ता झुक्याउने एक सर्जिकल पसललाई दुई लाख र दुइ वटा तरकारी पसललाई २०/२० हजार रुपैयाँ जरीवाना तिराएको थियो ।

शनिबारको बजार अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक प्रेम अर्याल, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतम र सचिव प्रभात कुमार ठकुरी, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी सहायक निरीक्षक विष्णु केसी लगायतको सहभागिता रहेको थियो ।

Previous articleअसारमा डेढ लाख व्यक्तिमा कोरोना संक्रमण फैलिने प्रक्षेपण, नयाँ संक्रमित मध्ये १० % लाई अक्सिजनको आवश्यकता पर्ने
Next articleइडिभी २०२२ को नतिजा सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here