भगवान रामको फरक-फरक रामकहानी

भिक्षु कश्यप । पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले अयोध्या नेपालमा पर्छ र भगवान राम नेपालका हुन् भन्दै आएका छन् । योसँगै नेपाल-भारतका हिन्दुमाझ अयोध्या र रामबारे चर्चा बढेको छ ।

तर रामका कथा नेपाल-भारत र हिन्दु धर्ममा मात्र सीमित छैन । थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया लगायत दक्षिण पूर्वी एसियामा पनि रामकथा निकै लोकप्रिय छन् । कथाको केन्द्रमा राम मुख्य पात्र भए पनि देश, संस्कृति र समय अनुसार रामकथामा पनि केही भिन्नता र विविधता छन् ।

नेपाल-भारतका हिन्दुमाझ तुलसीदासकृत रामायण लोकप्रिय छ । जैनधर्ममा विमलासूरी लिखित रामकथा (जसलाई पद्मचरिता या पद्मपुराण पनि भनिन्छ) लोकप्रिय छ भने बौद्धमा दशरथ-जातकुका नाममा ।

समग्रमा तीनवटै रामकथा मिल्दाजुल्दा छन् । त्यसमा पनि जैन र हिन्दु रामकथा बढी नै मिल्छन् । बौद्ध रामकथा भने अलिक फरक छ ।

हिन्दुहरूले रामलाई भगवान विष्णुका अवतार मान्छन् । रामायण अनुसार अयोध्याका राजा दशरथका चार छोरा थिए-राम, लक्ष्मण, भरत र शत्रुघ्न । सीता रामकी पत्नी हुन् । कैकेयी (भरतकी आमा) को भरतलाई राजा बनाउने चाहनाले गर्दा राम, लक्ष्मण र सीता १४ वर्ष वनबास जानुपर्छ । वनबास क्रममा लंकाका राजा रावणले सीताको अपहरण गर्छन् । अनि रामले रावणको वध गर्छन् । वनबास पूरा भएपछि उनी अयोध्याका राजा भएर शासन गर्छन् ।

जैनहरूले भने रामलाई एक जैन मुनी मानेका छन् । बौद्धहरूले शाक्यमुनी गौतम बुद्ध बन्नुअघि अनेक जन्म बोधिसत्व भएर बिताएमध्येको एक जन्म बोधिसत्व-राम भनेर मान्छन् । यिनै बोधिसत्व रामलाई आदर्श राजाका रूपमा लिएर थाइल्यान्डका धेरै पूर्व राजाहरूले आफ्नो नाम राम राखेको पाइन्छ ।

अयोध्याको अर्थ जोसँग युद्ध गर्न सकिन्न, गरी हाले पनि विजय पाउन असम्भव छ । हिन्दु र जैन मान्यता अनुसार संसारमा राज गर्ने दुई चक्रवर्ती राजाहरू, भरत र सगरको राजधानी अयोध्या नगरी थियो । यिनै चक्रवर्ती राजा भरतको नामबाट छिमेकी देशको नाम भारत र यस उपमहाद्वीपको नाम भारतवर्ष रहन गएको हो ।

जैन धर्मका प्रथम तिर्थंकर चवनको जन्म पनि अयोध्यामै भएको मानिन्छ । उनका पुत्र भरत नै चक्रवर्ती राजा बनेको उल्लेख छ । अयोध्यालाई जैनशास्त्रमा विनित नगर, ईक्ष्वाकु भूमि, कोशल, अवध्या, रामपुरी वा साकेतपुरी नामले उल्लेख गरेको पाइन्छ । जैन र हिन्दुहरूका अनुसार रामको जन्म अयोध्यामा भएको थियो । बौद्ध रामकथा अनुसार रामको जन्म वाराणासीमा भएको बताइन्छ ।

दशरथ जातक- बौद्ध रामकथा
एक जमिनदारका पिताको देहान्त हुन्छ। उनी सबै कामकाज छडेर दुःखमा डुबेका हुन्छन् । एकदिन जेतवन बिहारमा बुद्धलाई भेट्न जान्छन् । बुद्धले ती जमिनदारलाई सान्तवना दिन सुनाउँछन् दशरथ-जातक ।

दशरथ जातकमा रामायणका सबै पात्र करिब-करिब सबै छन् । तर दशरथ आयोध्याका नभएर वाराणासीका राजा छन् । त्यस्तै सिता रामकी पत्नी नभएर बहिनी हुन् । रामको वनवास १४ वर्ष नभएर १२ वर्ष मात्र छ । रावण, हनुमान जस्ता पात्रको कुनै स्थान छैन । साथै सीताको अपरहण या लंका युद्ध पनि हुँदैन ।

वाराणासीका महाराजा दशरथका १६ हजार रानी थिए । सबभन्दा जेठी महारानीबाट दुई छोरा र एक छोरी जन्मिन्छन् । जेठा छोराको नाम राम-पण्डित, कान्छाको लक्खनकुमार तथा छोरीको नाम सीतादेवी हुन्छ ।

जेठी महारानीको मृत्युपछि, अमात्य (मन्त्री) हरूको सल्लाहमा अर्की रानीलाई महारानी बनाइन्छ । उनीबाट एक छोरा जन्मिन्छन्, भरतकुमार ।

राजा दशरथले पुत्रमोहका कारण महारानीलाई जे इच्छा छ, वर मागु भन्छन् । रानीले उचित समय आएपछि माग्छु, त्यति बेला नै माग पूरा गर्ने वचन दिनू भन्छिन् ।

जब भरत ठूला भए तब राजाकहाँ गएर महारानीले भन्छिन्, महाराज, हजुरले वर दिनुभएको थियो । अब म माग्छु । मेरे छोरा भरतलाई राजगद्दि दिनुहोस् ।

दशरथ निकै दुखी भएर भन्छन् ,  तेरो नाश होस् । मेरा छोरा राम र लक्खन गुण सम्पन्न छन् । उनीहरूलाई मारेर आफ्नो छोरा भरतलाई राजगद्दि दिन चाहन्छेस् १

यति सुनेपछि महारानी डराएर आफ्नो कक्षमा जान्छिन् । तर बारम्बार दशरथसँग राजगद्दिको याचना गरिरहन्छिन् । दशरथ सोच्न थाल्छन्- कतै झुटो राजाज्ञा वा राजमोहर लगाएर राम र लक्खनलाई मारिदिने पो हो कि यसले ?

दशरथले राम र लक्खनलाई एकान्तमा बोलाएर भन्छन्, छोराहरू, यहाँ तिमीहरूको जीवनलाई खतरा छ । तिमीहरू कुनै जंगलमा गएर बस । मेरो मृत्युपछि फर्केर आऊ र राजगद्दिका लागि आफ्नो वंश अधिकार लिनू ।

दशरथले राज-ज्योतिषीलाई आफ्नो आयु कति बाँकी छ भनेर हेर्न लगाउँछन् । ज्योतिषीहरूले १२ वर्ष बाँकी रहेको बताएपछि दशरथले रामलाई भन्छन्, आजको १२ वर्षपछि फर्केर आउनू र राजछत्र धारण गर्नू ।

पिताबाट आज्ञा भएपछि राम र लक्खन राजदरबारबाट बाहिरिन लागेका बेला बहिनी सीताले भन्छिन्, म पनि दाइहरूकै साथ जान्छु ।

यसरी तीनै जना नगरबाट बाहिरिन्छन् । राज्यका जनता पनि उनीहरूका पछिपछि आउँदा रामले सम्झाइ-बुझाइ गरेर फर्काउँछन् । तीनै जना हिमालय नजिकको ठाउँमा पुग्छन् जहाँ पानी र फलपूल सजिलै पाइन्थ्यो । त्यहीँ आश्रम बनाएर उनीहरू जीवन निर्वाह गर्न थाल्छन् ।

लक्खन र सीताले दाजु रामलाई भन्छन्, ुतिमी हाम्रा अग्रज हौ, पितातुल्य छौ, तिमी आश्रममा बस, हामी जंगलबाट फलफूल ल्याएर तिम्रो पोषण गर्ने छौं ।

राम आश्रममै ध्यान-तपस्या गर्ने लागे र भाइबहिनीले उनको सेवा गरे। यसरी नौ वर्ष बित्यो। यही बेला राजा दशरथको मृत्यु भयो । अनि महारानीले आफ्ना छोरा भरतलाई राजछत्र धारण गरेर राज्य चलाउन भन्छिन् । तर अमात्यहरूलाई यो कुरा राम्रो लागेन । उनीहरूले विरोध गर्दै राजछत्रका असली स्वामी जंगलमा छन् भन्छन् ।

भरत म आफ्ना जेठा दाइ रामलाई जंगलबाट ल्याएर राजछत्र धारण गराउँछुु भन्ने सोच्छन् । उनी रामको आश्रम पुग्छन् । त्यो बेला लक्खन र सीता फलफूल खोज्न गएका हुन्छन् । एक्लै ध्यानमा सुखपूर्वक बसेका रामलाई भरतले पिताको मृत्यु भएको समाचार सुनाउँछन् र खुट्टा समात्दै रुन्छन् ।

राम न चिन्तित हुन्छन् न रुन्छन् । उनको अनुहारमा कुनै शोक देखिँदैन । त्यही बेला लक्खन र सीता आइपुग्छन् । पिताको मृत्युको समाचार सुनेर दुवै मुर्छित हुन्छन् । होश आएपछि निकै विलाप गरेर रुन्छन् ।

भरतले सोच्छन्- दाइ लक्खन र दिदी सीता पिता मरेको खबर सुनेर सहनै नसक्ने गरी दुःखी भए । तर रामले न कुनै शोक गरेका छैनन् । यसरी शोकरहित रहनुको कारण के छ ?

उनले सोध्छन्, हे राम, तिमी कुन प्रभावका कारण चिन्ता गर्दैनौ ? पिताको मृत्युको खबर सुनेर तिमी किन दुःखी छैनौ ?

राम भन्छन्, तरुण हो या वृद्ध, मुर्ख हो या पण्डित, धनी हो या दरिद्र , सबै मरणशील छन् । संसारमा सबै नाशवान छ, अनित्य छ । मानिसले जति विलाप गरे पनि सधैं जीवित रहन सक्दैन । त्यसैले बुद्धिमान ज्ञानीले आफूलाई किन कष्ट दिने ? रुनु-कराउनु जे गरे पनि मरेको मानिसले केही पाउने होइन, बाँचेर आउने होइन । रुनु, शोक गर्नु निरर्थक छ । जो धीर छ, ज्ञानी छ, यो लोक र परलोक बुझेको छ, उसको मनलाई ठूला शोकले पनि कष्ट पुर्‍याउन सक्दैन ।

रामको धर्मोपदेश सुनेर सबैले राहत महशुस गर्छन् । तब भरत आग्रह गर्छन्, ुवाराणासी गएर आफ्नो राज्य सम्हाल दाजु राम ।

राम जवाफ दिन्छन्, लक्खन र सीतालाई साथ लिएर तिमी नै राज्यलाई अनुशासन गर ।

भरतः अनि तपाईं ?

रामः हेर भाइ, मलाई बुबाले १२ वर्षपछि आएर राजछत्र लिनू भन्नुभएको थियो । म आजै फर्केँ भने पिताको आज्ञा पालन हुँदैन । तीन वर्ष बाँकी छ, समय बितेपछि आउँला ।

भरतः त्यो बेलासम्म कसले राज्य चलाउँछ त ?

रामले भरतलाई तिमी राज गरु भन्छन् । भरत मान्दैनन् । अनि रामले जबसम्म म फर्किन्नँ, यो पादुकाले राज्य सम्हाल्नेछु भनेर आफ्ना खराउ दिन्छन् ।

तीनै जनाले रामका पादुका प्रणाम गरेर उठाउँछन् र वाराणासी फर्किन्छन् । तीन वर्ष यसरी नै रामको प्रतीक उनको पादुकालाई सिंहासनमा राखेर भरतले राज्य चलाउँछन् । तीन वर्षपछि राम फर्किन्छन् । रामको राज्‍याभिषेक हुन्छ । रामले १६ हजार वर्ष राज्य गरे भनिएको छ । (स्रोत : दशरथ जातक-४६१०)

जैन रामकथा :

जैन धर्ममा रामकथालाई पौमाचरिता (या पद्मचरिता) भनिएको छ । रामलाई मर्यादा पुरुषोत्तम, अहिंस्रक र वितरागी भनिएको भएकाले जैन धर्मनुसार रामको नाम श्रीपद्म थियो । त्यसकारण जैन रामकथालाई पद्मपुराण पनि भनिन्छ ।

हिन्दु धर्ममा राम विष्णुको अवतार मानिएका छन् । तर पद्मपुराणमा राम एक बलभद्र थिए, ६३ शलाका पुरुषमध्ये एक । अर्थात रामलाई विशिष्ट एवं सम्मानीय पुरुषको दर्जा दिइएको छ, जसले सिद्धक्षेत्र मांगीतुंगी (मांगी र तुंगी दुई शिखरवाला पर्वत, महाराष्ट्र) पर्वतमा मोक्ष प्राप्त गरेका थिए ।

पद्मपुराणमा रामको आयु लगभग १७ हजार वर्ष र उनको उचाइ १६ धनुषजति थियो । रामसँगै हनुमान, बाली, सुग्रिव लगायत पात्रले पनि मांगीतुंगी पर्वतवाट मोक्ष प्राप्त गरेका थिए । यही पर्वतबाट ९९ करोड प्राणीले मोक्ष प्राप्त गरेका थिए ।

हिन्दु रामायण अनुसार रामले सीताको अग्निपरीक्षा गराएपछि सीता धर्तीमा समाहित हुन्छिन् । उनको कपाल मात्र जमिनमाथि शेष रहन्छ । तर पद्मपुराणमा रामले एक धोबीको आरोपपछि सीताको त्याग गर्छन् । त्यसपछि सिताले पृथ्वीमति साध्वी-जैन(सन्यासिनी) सँग दिक्षा लिन्छिन् र केशलोचन (कपाल उखाल्नु) गर्छिन् र सन्यास लिन्छिन् भनिएको छ ।

पद्मपुराणमा रामको वनबासबारे भिन्न कथा छ । कैकेयीलाई आफ्ना छोरा भरत संन्यासी बन्लान् भन्ने डर थियो । यही भयका कारण उनले राजपाठको जिम्मेवारी भरतलाई दिए संन्यासी बन्ने छैनन् भन्ने सोच्छिन् । जब यो कुरा रामले थाहा पाउँछन्, उनी आफैं वनबास जान्छन् ।

बाली प्रसंग पनि जैन रामकथामा फरक छ । बालीलाई हटाएर जब सुग्रिवलाई सिंहासन दिइयो तब बालीले संन्यास लिए र जैन मुनी बने भनिएको छ । त्यस्तै राम अहिंस्रक भएकाले महाज्ञानी रावणलाई मार्दैनन् । बरू लक्ष्मणले रावणको वध गरेका हुन् ।

तीर्थंकर मुनिसुव्रतको शासनकालमा लंका नगरीका राजा रावणको जन्म भएको थियो । पिताको नाम रत्नश्रवा र माताको नाम केकसी थियो । रावणका दुई भाइ, कुम्भकर्ण र विभीषण र एक बहिनी चन्द्रनखा थिए । चन्द्रनखा सूपर्नखा नामले नै अधिक प्रसिद्ध भइन् ।

रावण कुलमा राक्षसी विद्याको चलन थियो । रावणका हजुरबुबालाई भिमाद्रदेवले राक्षसी विद्या र नवमाणिकको हार दिएका थिए । सानै उमेरमा एकाएक रावणले त्यो नवमाणिक हार लगाए । तत्कालै उनका अरू ९ टाउका पनि उत्पत्ति भए । त्यसैले पद्मपुराणमा उनलाई दशमुखा पनि भनिएको छ ।

जैन रामकथा अनुसार रावणका मन्दोदरी लगायत अनेक रानी थिए । इन्द्रजित, मेघवाहन आदि धेरै शुरवीर छोराहरू थिए । तीन खण्डमा शासन गरेकाले उनलाई प्रतिवासुदेव पनि भनिएको छ । वणलाई एक न्यायप्रिय राजाका रूपमा देखाइएको छ । उनी जैन धार्मिक स्थलहरूको रक्षा गर्छन् । निकै ज्ञानी र सद्गुणी छन् । रावण यदि स्त्री चाहँदिनन् भने उनलाई जबरजस्ती गरिने छैन भन्ने नियम मान्थे । तर बहिनी सुपर्नखाको उक्साहटमा लागेर उनले सिताको अपहरण गर्ने घोर पाप कर्म गरे । तर सीतासँग जबरजस्ती सम्बन्ध बनाएनन् ।

पद्मपुराणमा लंकाबाट विजय प्राप्त गरी अयोध्या फर्केपछि रामले राजगद्दि सम्हालेका छन् । पछि लक्ष्मणको अचानक मृत्यु हुन्छ र राममा वैराग्यता आउँछ । उनी राजपाठ त्यागेर जैन मुनी बन्छन् ।

यसरी देश, संस्कृति र समय अनुसार रामायणका कथामा समानताका साथै विविधता देखाइएका छन् । श्रोत सेतोपाटी

Previous articleकोरोना खोप उत्पादन दोब्बर बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह
Next articleबीग्रुप र केयर नेपालद्धारा नरैनापुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here