कोरोना खोप उत्पादन दोब्बर बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले विकासशील राष्ट्रमा कोरोना खोपको सहज वितरणको लागि उत्पादन दोब्बर गर्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय विकासशील मुलुकमा कोरोनाको नयाँ लहर फैलिरहेकाले खोप उत्पादन दोब्बर पार्नु जरुरी रहेको गुटेरसको भनाइ छ ।

हाल धेरै मुलुकले खोपको अभाव झेलिरहेका छन् । विशेष गरी भारत लगायत कोरोनाको नयाँ लहरले आक्रान्त भएका मुलुकले खोप अभावको सामना गरिरहनु परेको छ । यद्यपि अहिले विश्वका केही धनी मुलुकले भने आफ्ना अधिकांश मानिसहरुलाई कोरोना खोप लगाइसकेका छन् । केही मुलुकले आफ्ना नागरिक सबैलाई दिंदा पनि बढी हुने गरी कोरोना खोप थुपारिरहेका छन् ।

‘विकसित मुलुकले आफ्ना अधिकांश नागरिकलाई कोरोना खोप लगाइरहँदा धेरै विकासशील मुलुकका नागरिकले एक डोज खोप पनि नपाउने हुनु पूर्णरुपमा अस्वीकार्य छ,’ गुटेरसले भन्नुभयो । अहिले विश्वका केही विकासशील मुलुकमा कोरोना भाइरसको म्युटेसन र नयाँ भेरियन्टहरु डढेलोजस्तै फैलिएको गुटेरसको भनाइ छ । उहाँले विश्वका सबै क्षेत्रका मानिसलाई कोरोना खोप लगाउने लक्ष्य हुनुपर्ने बताउनुभयो ।

Previous article२४ घण्टामा भारतमा ३ लाख ६२ हजार संक्रमित थप, ४१ सयको मृत्यु
Next articleभगवान रामको फरक-फरक रामकहानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here