
नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित एक पुरषको बटारिएको आन्द्राको सफल शल्यक्रिया गरिएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं ३ का एक ६० वर्षीय पुरषको बटारिएको आन्द्रा काटेर फालेसंगै सफल शल्याक्रिया गरिएको अस्पतालले जनाएको छ ।
‘वैशाख ३० गते उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । ति पुरुषको चेकजांच गर्दा ५ दिनदेखि दिशा नभएको, पेटको अत्याधिक दुखाई भएको र उल्टी हुने समस्या रहेको पाइयो’ अस्पतालका सह-निर्देशक डा नितेशकुमार कनोडियाले भन्नुभयो, ‘निजको ल्याब तथा भिडियो एक्सरे गर्दा सानो आन्द्रा वटारिएको (Acute Intestinal Obstruction Secondary to Ileal Volvulus with Gangrenous Bowel) दिेखिएपछि जेठ १ गते बेलुका ५ः३० देखि ८ः०० बजे सम्म अप्रेशन गरियो । अप्रेशन गर्दा सानो आन्द्रा वटारिएर कुहिएकोले उक्त भाग काटेर फाली आन्द्रा जोडर सफल अप्रेशन गरिएको छ ।’
सह(निर्देशक डा कनोडियाका अनुसार कलेजका उप–प्राचार्य तथा वरिष्ठ सर्जन डा.अनुप शर्माको नेतृत्वमा सर्जन डा.दिग्विजय विक्रम खड्का, सर्जरी विभागका डा.प्रविर महर्जन, एनेष्थेसिया विभागका डा. रनिश श्रेष्ठ, स्टाफ नर्सहरु दुर्गा पन्त, पुतला विष्ट, पार्वती शाही र क्लिनर रमेश बाल्मिकी समेतको टिमले अप्रेशन गरेको हो ।
अप्रेशन पश्चात बिरामीको अवस्था सुधारन्मुख रहेको अस्पतालले जनाएको छ । ति पुरुषको मेडिकल कलेज कोहलपुरमा बैशाख २० गते कोरोना रहेको पुष्टि भएको थियो ।





