
काठमाण्डौं । नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको हो ।
मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी मंगलबार प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ ।
परिवर्तित भाइरस सहित हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ ।
हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको जनाएको छ ।





