नेपालमा कोरोना कहर : को सफल, को असफल ?

बाँके : कोरोनाको दोस्रो चरणको नयाँ भेरियन्ट सहितको संक्रमणले नेपाल आज आक्रान्त छ । विशेष गरि दक्षिण एशियाका देशहरु भारत, श्रीलंका र बंगलादेशसंगै नेपालमा पनि पहिलो चरणको तुलनामा यो लहर बढी आक्रमक देखिएको छ । आजका दिनसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४७२३५४ पुगेको छ भने मृतकको संख्या ५४११ पुगेको छ ।

दैनिक २०० बढीको मृत्यु भइरहेको छ भने दैनिक करिब १० हजारको हाराहारीको संख्यामा नँया संक्रमित थपिएको अवस्थाले भयावह अवस्था देखाउँदछ । नेपालको कमजोर स्वास्थ पुर्वाधार तथा सिमित स्रोत तथा साधनका बाबजुद उपलब्ध मानविय तथा भौतिक स्रोत साधनको प्रयोग गर्दै सामना गरिरहेको अवस्था छ, भने पछिल्लो समय हाहाकार भएको अक्सिजन अभावलाई व्यवस्थित गर्न नेपालमा भएका अक्सिजन उद्योगलाई पुर्ण क्षमतामा सञ्चालन, भन्सार छुट, सरकारी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न बजेट विनियोजन तथा सम्पुर्ण अस्पताललाई आवश्यक बजेट विनियोजन गर्ने तथा उडानको प्रयोग गरेर सिलिण्डर ल्याउने जस्ता कामहरु भइरहेका छन ।

यद्धपि नेपाल सरकारले यो वर्ष भेन्टीलेटर, आइ.सि.यु तथा विशेष बेडको संख्या उल्लेख्य वृद्धि गरेको तथ्यांकले देखाँउछ । तर अहिलेको यो आक्रामक कोरोनाको लहरलाई थेग्न कठिन भइरहेको छ । मानिसहरु दिन प्रतिदिन ज्यान गुमाइ रहेका छन । संक्रमितले सुविधा सम्पन्न उपचार पाउन कठिन भएको छ । तसर्थ सरकारको तयारीको आलोचना हुनु स्वभाविक हो । यद्धपि यो एउटा महामारी हो यसको पुर्वानुमान समेत कठिन हुने हुँदा युरोप तथा अमेरिका जस्ता विश्वका सबैभन्दा सम्पन्न तथा आधुनिक स्वास्थ सेवा भएका देशका सरकारहरुले समेत कोरोनाको सामु घुँडा टेकेको हामीले देखेकै हौं ।

जिम्मेवारी कसको :
सामान्यतया देशका जनताको स्वास्थ्य सुरक्षाको सम्पुर्ण जिम्मेवारी देशमा रहेको सरकारको रहन्छ नै तर यो महामारीको समयमा समेत सम्पुर्ण जिम्मेवारी सरकारको टाउकोमा थोपरेर विगत वर्षौदेखि देशको शासन सत्ता समाल्ने व्यक्ति तथा दलहरुले समेत देशको कमजोर स्वास्थ्य पुर्वाधारको अवस्थाको जिम्मा लिने कि नलिने ?

ठिक एक वर्ष अगाडी कोरोना शुरु हुँदा परिक्षण गरेर प्रमाणिकरण गर्न हङकङ लैजान परेको अवस्थाको जिम्मा कसले लिने ? हाल नेपालका ८७ स्थानमा कोरोनाको पि.सि.आर.परिक्षण भइरहेको छ, तथा यो एक वर्षमा देशभरी सयको संख्यामा रहेका आइ सि.यु तथा भेन्टीलेटरको संख्या हजारमा पुग्नु तथा उल्लेख्य संख्यामा बेड थपिनुलाई नै सम्पुर्ण उपलब्धि मान्न सकिदैन ।

यस कठिन परिस्थितिमा आफ्नो कोठाबाट भिडियो सन्देश जारी गरेर सरकारको आलोचना गर्नेहरुले पनि विगतमा स्वास्थ्य मन्त्रालय तथा सरकार सञ्चालन गर्दा पुर्वाधार विकासका लागि के गरे ? नेपाली जनताले नियाली रहेका छन । अहिलेको विषम अवस्थामा आरोप प्रत्यारोप गर्नु भन्दा देशमा भएको साधन तथा स्रोतको प्रभावकारी परिचालन गरी सबै एकजुट भएर कोरोना पराजित गर्नु नै बुद्धिमानी हुने छ ।

संवेदनहीन राजनीति :
नेपाल र नेपाली जनता कोरोना कहरबाट त्राही त्राही हँदा समेत नेपाली राजनीति भने संवेदनहीन देखिएको छ । कोरोना कहरमा एकजुट हुनुपर्ने सरकार तथा प्रतिपक्षी राजनीतिक दलहरु यस्तो विषम परिस्थितीमा समेत सत्ता राजनीतिमा लिप्त देखिएका छन । कोरोना शुरु भएदेखि नै देखिएको सत्तारुढ दल भित्रको विवाद अझै बाँकी नै छ ।

यस कोरोना महामारीको बेलामा सम्पुर्ण देश एक ढिक्का भएर कोराना विरुद्ध उभिनु पर्नेमा विगतमा देशको नेतृत्व गरेका जिम्मेवार व्यक्तिहरुबाट नै देशमा सशक्त ध्र्ु्रविकरण गरेर सरकारको नेतृत्व गरेका प्रधानमन्त्री विरुद्ध सम्पुर्ण शक्ति लगाएर लागेको देखिन्छ । सरकारका केही कमिकमजोरी भए पनि यस विषम परिस्थितीमा सहयोग गरेर कोरोना नियन्त्रणमा सहयोग गर्नु पर्ने समयमा यो वा त्यो वाहानामा पदकै लागि गरिने संघर्षले कसैको भलो गर्दैन ।

आगामी वर्षको बजेट आउने समयमा समेत जुन प्रकारको अस्वस्थ संघर्ष र इगोको लडाइ चलिरहेको छ यसले कुनै पनि तरिकाले यो विषम अवस्थाको सामना गर्न सघाउदैन । प्रजातान्त्रिक प्रणालीमा जनता न्यायधिश हुन्छन् र सरकार तथा प्रतिपक्षको भुमिकाको अध्ययन गरिरहेका हुन्छन् र निर्वाचनको समयमा आफ्नो निर्णय सुनाएर न्याय निशाफ गर्ने हुँदा अब एक डेढ वर्षमा आउने निर्वाचनसम्म र्धैर्य गरेर यो विषम परिस्थितीमा संकटको सामना गर्न एकजुट भएमा मात्र आगामी निर्वाचनमा जनताले जनमत दिनेछन् ।

अन्यथा जनता निर्मम भएका इतिहासहरु साक्षि छन् । कोरोना नियन्त्रण तथा सामनालाई कसैले सफलता र असफलताको विषय बनाएर धुत्र्याई गर्नु राजनीतिक बेइमानी हो । सरकारले सफल भएमा एक्लै जस लिने प्रयत्नमा र विपक्षले सरकारलाई असफल बनाँउदा मात्र आफ्नो सफलता देख्ने धृष्टतामा जनता मार्ने कुकर्म गरेमा त्यो अपराध क्ष्यम्य हुने छैन । देशमा रहेका सम्पुर्ण शक्तिले कोरोना नियन्त्रणमा सरकारलाइ निसर्त सहयोग गर्नु नै आजको आवश्यकता तथा जिम्मेवारी हो र कोरोना विरुद्धको सफलता सम्पुर्ण नेपालीको सफलता हुनेछ ।

सरकारको जिम्मेवारी :
सरकारले तत्कालका लागि उपलब्ध साधन र स्रोतको प्रभावकारी परिचालन गरि जनताको ज्यान बचाउन अधिकतम प्रयत्न गर्नु आजको आवश्यकता हो । कोरानासंगको लडाइमा खोप सबैभन्दा प्रभावकारी उपाय भएकाले आगामी वर्षको लागि आउदै गरेको बजेटमा अन्य शिर्षकको बजेट कटौती गरेर भए पनि बढी भन्दा बढी जनसंख्यालाई खोप लगाउन बजेट विनियोजन गर्नु पर्दछ ।

विश्व भरीनै खोपको माग अधिक भएकोले आफ्ना कुटनीतिलाई उपयोग गरि छिटो भन्दा छिटो खोप प्राप्त गर्ने क्षमता समेत सरकारले प्रदर्शन गर्नु पर्दछ । देशका जनता कोरोनाको चपेटामा परेर दैनिक २०० को संख्यामा ज्यान गुमाइ रहेको वर्तमान दुःखद अवस्थामा समेत नेपाली राजनीतिक दलहरु तिव्र ध्रु्रविकरणमा लागेर सत्ता पक्ष र विपक्षमा देखिनु लजास्पद त हो नै यो राजनीतिक अपराध समेत हो ।

कुनै दल तथा नेतालाई हराउन निर्वाचन आँउछ । निर्वाचनको बेला जतिसुकै ठुलो गठबन्धन गरे पनि त्यो प्रजातान्त्रिक प्रणली मानिन्छ । तर राजनीतिको नाममा अहिलेको अवस्थामा सरकार विरुद्ध गठबन्धन गरेर कोरोना कहर जित्न कही कतै सहयोग पुग्दैन । राजनीति जनताको लागि हुनु पर्दछ नकी कथित् राजनीतिक सफलताको लागि सबै दल तथा नेताहरुलाई श्री पशुपतिनाथले बेलैमा सद्बुिद्ध दिँउन ।

Previous articleनेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लाग्यो, धेरै संक्रामक र जोखिमपूर्ण
Next articleअनलाइन पत्रकार संघ, बाँकेले शुरु गर्यो साता ब्यापी रक्तदान कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here