
गणतन्त्र ल्यायौ, संविधान बनायौ, सरकार पनि बनायौ
छोरा मन्त्री, छोरी मेयर अनि साला सासु राजदुत बनायौ
सत्ता पाउनेले ऐश गर्यौ, नपाउने रन्थनियौ
जनता बिर्सी, सधैं भरी कुर्सी दौडमै रमायौ
हटाउन र जोगिनमै देश बर्बाद गरायौ ।।
अरबको मरुभुमीमा उट, भेडा चराउनेलाई
पेटभरी खान नपाइ कुपोषणले मर्नेलाई
सिटामोलको अभावमा ज्वरोले ज्यान फाल्नेलाई
भन तिम्रो संबिधान कहाँ काम लाग्यो ? वेड नपाइ तड्पिएर मर्नेलाई
अक्सीजनको अभावमा चरा जस्तै मर्नेलाइ ।।
जब, जब तिम्रो कुर्सी दौड कठिन बन्दछ
तिम्रा आँखाले संविधानका धारा अनि उपधारा देख्दछ
दुहाइ दिदै कानुनको तिनै निरिह जनता गुहार्दछ
तिम्रो हरकत देख्दा आज, लाज पनि लजाउँछ
तिमीले बनाएको संविधानले तिमीलाई नै गिज्याउँछ ।।
कस्तो बनायौ संविधान आफु खुसी व्याख्या गर्न मिल्ने
चुनाव हारेर नि जस्केलाबाट सांसद र मन्त्री बन्न मिल्ने
देश भन्दा ठुलो पार्टी ठानी राष्ट्रियता स्वार्थ संगै निल्ने
स्वार्थ मिले जो–जस संग पनि घाटी जोड्न मिल्ने
नमिलेमा गद्धार, सामन्त र तानाशाह चिन्ने ।।
सिद्धान्त, विधि, अनि नियम सबै देखाउने दाँत भए
जनता कोरोना कहरमा पर्दा ति मौलिक हकहरु कता गए
जनतालाई के फरक पर्छ तिम्रो संविधान बाँचे वा मरे
किनकी त्यो तिम्रै मात्र हो, के गर्यो मलाई यदि मेरो भए
तिमीहरुलाइ रोक्थ्यो कुर्सी दौडबाट, जनता बचाउन मेरो भए ।।
पर्दैन जनतालाई झुक्याउन संविधानको हवाला दिएर
बाँची रहेछन् जनता यहाँ पशुपतिनाथकै कृपा लिएर
शुभकामना छ कुर्सी दौडको, आँशुका थोपा पिएर
सिंहदरबारमा अर्को फोटो झुण्डियोस दौड जितेर
जनता गुहार्दैछन् भगवान आज अस्पतालमा छाती पिटेर ।।
२०७८/०२/०७





