
नेपालगन्ज । कोरोना भाइरस संक्रमणकाबीच समाचार रिर्पोटिङ्गमा सक्रिय बाँकेका ७० जना पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान गरिएकोछ ।
नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना महामारीको उच्च जोखिममा रहेका बाँकेका पत्रकारका लागि नेपाल प्रेस युनियन बाँकेले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
युनियन बाँकेले बिहीबार र शुक्रबार गरि बाँकेका ७० जना पत्रकारलाई प्रतिब्यक्ति एन–९५ मास्क दुई थान र हेण्ड सेनिटाइजर एक थान प्रदान गरेको छ । बाँकेमा क्रियाशिल पत्रकारहरुलाई लक्षित गरि युनियन बाँकेले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीका अनुसार महामारीमा जोखिम मोलेर पत्रकारले समाचार संकलन गरिरहेकाले स्वास्थ्य सामग्री सहयोग गरेको बताउनुभयो ।
ओलीले युनियनले चालेको अभियानमा सहयोग गर्ने सहयोगी मनलाई समेत धन्यबाद दिएको छ । केही दिनअघि मात्र समाजसेवी एवम् युवा ब्यवसायी विवेक राजभण्डारीले युनियन बाँकेलाई एन–९५ मास्क र ४० थान ह्याण्ड सेनिटाइजर हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै प्रेस युनियनलाई केही दिनअघि नेपाली काँग्रेस बाँकेले पनि स्वास्थ्य सामग्री सहयोग गरेको थियो । यता युनियनले चालेको स्वास्थ्य सामाग्री वितरण कार्यमा जिल्लाका विभिन्न ब्यक्ति तथा संघ सस्थाबाट सहयोग प्राप्त भइरहेको युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहयोग स्वरुप प्राप्त भएका सबै स्वास्थ्य सामग्रीलाई कोरोना महामारीमा जोखिम मोलेर फिल्डमा खटिएर काम गरिरहेका बाँकेका पत्रकारहरुलाई पुनः वितरण गरिने छ ।





