
नेपालगञ्ज । नेपालगञ्जमा पहिलो प्रथामिकतामा परि कोभिसिल्डको पहिलो डोजको खोप मात्र लगाएकालाई दोस्रो डोजको खोप लगाइने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै पहिलो प्राथमिकतामा परेर कोभिसिल्डका पहिलो डोजको खोप लगाएका र कोभिसिल्डकै दोस्रो डोजको खोप लगाउन छुट भएकाहरुलाई खोप लगाउने तयारी भएको जनाएको हो ।
उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दका अनुसार कोभिसिल्डको पहिलो डोज लगाएका र दोस्रो डोज लगाउन प्राथमकितामा परेकाहरुलाई यही जेष्ठ १३ र १४ गते खोप लगाउने तयारी भएको छ । कोभिसिल्डको दोस्रो डोज नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको नेपालगञ्ज स्वास्थ्य चौकीमा लगाइनेछ ।
यसरी कोभिसिल्डको दोस्रो डोज स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाका अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, पालिकाका सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरु, जेलमा रहेका कैदि तथा सुरक्षाकर्मीहरु, जनप्रतिनिधि र स्थानीय तहका कर्मचारी, निजामति कर्मचारी तथा जनपद प्रहरी, शसस्त्र प्रहरी (सिमामा खटिएका मात्र), प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा समूहका कर्मचारी र पत्रकाहरुलाई बिहान १० देखि साँझ ४ बजेको समयावधीमा दुई दिनसम्ममा खोप लगाइनेछ ।
स्वास्थ्य कार्यालयको पत्रअनुसार जिल्लामा मौज्दात रहेको कोभिसिल्ड खोप फागुन २३ गतेभन्दा अघि कोभिसिल्डको पहिलो डोज लिएकाहरु मात्र दोस्रो डोजको खोपमा सहभागि हुन पाउने छन् ।





