
नेपालगञ्ज । श्री मदन बाबा भक्ति केन्द्र बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार नेपालगञ्ज र नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
केन्द्रले मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयलाई कोभिड बिरुद्धको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
कारागारमा रहेका कैदीबन्दी लगायतका लागि उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको जनाइएको छ । केन्द्रले मंगलबार नै महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
भक्ति केन्द्रकी सचिव गंगा न्यौपानेको नेतृत्वमा तीन वटै कार्यालयलाई सामाग्री सहयोग उपलब्ध गराइएको छ । न्यौपानेका अनुसार त्रिभुवन उच्च माध्यमिक बिद्यालय कोहलपुरमा २०५१ सालमा प्रवेशिका परीक्षा दिएका बिद्यार्थीहरुको सहयोगमा उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयलाई २५, कारागार कार्यालयलाई १ सय, पत्रकार महासंघलाई ४० र प्रहरी महिला सेललाई १२ सेट लगायत गरी २०१ प्याकेट मास्क र सेनिटाईजर प्रदान गरेको छ ।





