
कैलालीमा २ सय ४० रुपैयाँ लुट्न चार जना युवाले एक जनाको हत्या गरेको खुलेको छ ।
गत शुक्रबार बिहान धनगढी बसपार्कमा मृत फेला परेका व्यक्तिबाट उक्त रकम लुटेका उनीहरूले हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । फुटेजमा पक्राउ परेका युवकले सुतिरहेको व्यक्तिको खल्तीबाट पैसा निकालेको देखिएको कैलालीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताउनुभयो ।
फुटेजमा बिमारीजस्तो देखिने ती मानिस प्रतीक्षालयमा पल्टिएका देखिन्छन् । मादकपदार्थ सेवन गरेका केही युवक त्यहाँ पुग्छन् । उनीहरू सुतेका मानिसको खल्ती चेक गर्दै पैसा निकाल्छन् । पैसा लिएर भागेका उनीहरू केहीबेरमा फेरि आउँछन् । सुतेका व्यक्ति उठ्न खोजे पनि एक जनाले लात्तीले हानेर ढलाउँछन् । चारै जनाले पटक पटक उनीमाथि कुटपिट गरेको देखिन्छ ।
सोही फुटेजका आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका-१ का १८ वर्षीय दीपेन्द्र पौडेल, डडेल्धुराको अमरगढी गरपालिकाका १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका-४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका-१ का १८ वर्षीय युवराज शाहीलाई पक्राउ गरेको थियो ।
उनीहरूले रकम लुटेको र कुटपिट गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ । मृतकको पहिचान अझै खुल्न सकेको छैन । प्रकाउ परेकाहरूविरूद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । सेतोपाटी





