
नेपालगञ्ज । हुम्लामा एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । शुक्रबार बिहान करिब साढे ८ बजे चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढामाथि कुटपिट भएको हो । उहाँमाथि स्थानीय अमृत रोकायले कुटपिट गर्नुभएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार रोकाय गौरिशंखर प्राथमिक विद्यालयको शिक्षक समेत हुनुहुन्छ ।
स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो । त्यसको गम्भीरता बारे हामी बुझ्दैछौं । स्वास्थ्य चौकीको कम्पाउन्ड परिसरमा भएको भन्ने खबर आएको छ । स्वास्थ्यकर्मीले चौकीमा आएर निवेदन दिनुभएको छ, शर्माले भन्नुभयो । रोकायकी श्रीमती अहिले कोरोना संक्रमित छन् । संक्रमित श्रीमतीको उपचार नगरेको भन्दै कुटपिट गरेको डिएसपी शर्माले बताउनुभयो ।
उहाँको श्रीमती चाहिँ कोरोना पोजिटिभ हुनुभएको रहेछ । त्यसपछि दिन दिनै मेरी श्रीमतीको हेरचाह गरिदिनु भएन भनेर झोक्किएर आएर दुर्व्यवहार गर्यो भनेका छन्, उहाँले भन्नुभयो ।
उक्त गाउँ पुग्न प्रहरी कार्यालयबाट दुई घन्टा पैदल हिँड्नुपर्छ । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली खटाइएको छ । कुटपिट भए पनि घाइते नभएको प्रहरीले जनाएको छ । अहिलेको गम्भीरतालाई मध्यनजरमा राख्दै रोकायलाई कारबाही गर्ने डिएसपी शर्माले बताउनुभयो ।
विकट ठाउँ हो यो । हतोत्साही हुन्छन् । हत्तपत्त सहयोग पनि पाउनुहुन्न, डिएसपी शर्माले भन्नुभयो, स्वास्थ्यकर्मीको मनोबल गिर्ने काम गर्नेलाई हामी छोड्दैनौं । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । सेतोपाटीबाट





