कर्णाली सरकारमा सहभागी हुन कांग्रेसले तोक्यो दुई जनाको नाम

दिपकजंग शाही, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा बन्त्री बन्ने दुई जना सांसदको नाम तोकेको छ । संसदीय दलको शनिबार बसेको वैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

यी दुई नाम नियुक्तिका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाईसकिएको छ। आजै मन्त्री नियुुक्त गरेर आइतबार सपथ खुवाउने कार्यक्रम रहेको छ । यसैबीच संसदीय दलले प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरुका लागि आचारसंहिता पनि बनाएको छ ।

सरकारमा सहभागी हुनेहरुका लागि कांग्रेसले १३ बुँदे आचारसंहिता पनि जारी गरेको छ । आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने उल्लेख छ ।

यस्तै सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ । मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पनि कांग्रेसले प्रतिवन्ध लगाएको छ ।

सरकारमा सहभागी हुने मन्त्रीहरुले नागरिकहरुप्रति समान व्यवहार गर्नुपर्ने उल्लेख छ । संसदीय दलका नेता जीवन बहादुर शाहीले कोरोना महामारी नियन्त्रण गर्न, नागरिकका दैनिक जीवीकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु सम्बोधन गर्न, सुखी, समृद्ध र सम्मुनत कर्णालीको निर्माणका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने निर्णय भएको बताउनुभयो ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा वैशाख ३ गते काँग्रेसले पनि साथ दिएको थियो । त्यस क्रममा नेकपा एमालेको माधव नेपाल समूहका चार जना सांसद्ले पनि फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाएका थिए ।

फ्लोर क्रस गरेको तीन जालाई मुख्यमन्त्री शाहीले आफ्नो सरकारमा मन्त्री बनाईसक्नुभएको छ । एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोही निर्णय अनुसार चैत २४ गते तीन जना मन्त्रीले राजीनामा दिएका थिए ।

राजीनामा दिएका उद्योग मन्त्ती नन्दसिंह बुढा फेरि सोही मन्त्रालयमा मन्त्री बनिसक्नुभएको छ । अर्थ मन्त्रीबाट राजीनामा दिए प्रकाश ज्वाला फ्लोर क्रस गरेपछि मन्त्री भने बन्नुभएन ।

सामाजिक विकास मन्त्रीबाट दल रावलले राजीनामा दिएपछि यो मन्त्रालय अहिले पनि खाली छ । यो मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय फुटाएर बनाईएको जलस्रोत मन्त्रालयमा काँग्रेसका दुई जना सांसद् मन्त्री बन्न लागेका हुन् ।

सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुदलाई अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएपछि कांग्रेस सत्तामा जान मानेको थिएन । बिहीबारको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुदलाई सामाजिक मन्त्रालयमै ल्याउने निर्णय गरेपछि कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

अब कर्णाली प्रदेश सरकारमा माओवादीका मुख्य मन्त्रीसहित ३ जना, एमालेबाट फ्लोर क्रस गरी कारबाहीमा परेका स्वतन्त्र ३ जना र काँग्रेसबाट २ जना मन्त्री हुने छन् । सुरुमा सात सदस्यीय मन्त्रिपरिषद् अहिले फुटाएर ८ सदस्यीय बनाईएको छ । सेतोपाटीबाट

Previous articleनेपालगञ्जको एक मिलमा मेसिन पटकिँदा एक जनाको मृत्यु, दुई घाइते
Next articleकोरोनाको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्छ : स्वास्थ्य मन्त्रालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here