बदलिएको नेपालगञ्ज

इन्द्रेणीका सबै रंगहरूमा प्रेम घोलेर आकाशतर्फ उडाउँदै सडकमा हिँडिरहेकाहरूसँग सरोबरी भएर हिँड्दै थिएँ । प्रेम बगिरहेको खोला जस्तै निश्चल र सुशोभित हुन्छ । हो त्यस्तै अनुभूति भइरहेको थियो मलाई पनि ।
……….
पहिलापहिला नेपालगन्जमा तीन पांग्रे रिक्सा (साइकल चलाए जसरी चलाउने) धेरै चल्थ्यो अहिले मोटर ब्याट्रीबाट चल्ने रिक्सा र बसले बजार लिएछ । घोडाले तान्ने टांगा पनि एकादेशको कथा भैसकेछ ।
……….

खजुराका शोभाराम नाउसँग निकैबेर संवाद गर्ने मौका जुर्‍यो। पहिलेपहिले विवाहका बेला डोरीले बुनेको चारपाई (खाट) र साइकल दाइजो दिने मान्छे धेरै धनी मानिन्थ्यो। अहिले त छोरी बिहे गर्न सार्है कठिन भएको सुनाए उनले ।

भर्खर–भर्खरै सकिन लागेको जाडोको कोमल बतासले पाइलाहरू लुकाउने प्रयत्न गर्दै थियो । बाक्ला लुगाले शरीरबाट अलग्गिएर थन्किने जमर्कोसँगै पातला लुगाहरू गर्मी मौसमसँग झुत्ती खेल्न तम्तयार हुँदै थिए ।

तराईतिर फागुनमा बिहान सिर्सिरे सिरेटोले शरीर चंगा भए पनि दिउँसो भने हल्का गर्मी भइसकेको थियो। त्यही हल्का गर्मीको सरगममा रमाउँदै होली अर्थात फागु पुर्णिमा आँगनमा टहलिँदै आइपुगेको थियो। रंगहरूसँग खेल्ने यस पर्वलाई तराइमा होली भन्ने चलन छ।

संयोगवश यसपटक होलीमा म जन्मथलो नेपालगन्ज पुगेकी थिएँ। नेपालगन्ज धेरै मधेसी समुदायको बसोबास भएको ठाउँ। पहिला पहिला त पहाडेहरू कताकतै मात्र देखिन्थे अहिले भने सरोबरी छन्।

बाल्यकालको सानिध्यतामा पुग्दा हिमालको शिखर चुमे जत्तिकै मन फुरुङ हुने रहेछ। बाल्यकाल मधेसी साथी र मधेसी छिमेकीसँगै खेलेरै बितेको थियो। साथीहरूसँग म पनि मधेसी नै बन्थें। त्यतिबेला अहिलेको जस्तो प्रविधिको सुविधा थिएन। त्यसैले खेल्ने त उही साइकलको टायरलाई डन्डीले गुडाउँदै दगुर्नु अनि डन्डी बियो र डोरी जस्ता खेल थिए। त्यसरी खेल्दा पनि हारजितको महत्व गज्जबै हुन्थ्यो।

त्यो बेलाको एउटा दुःखद घटनाले मन अझै पनि अमिलो भइरहन्छ, दशैं आउने बेला चंगा निकै उडाउने चलन थियो। म र भाइ हरेक खेलहरूमा सँगसँगै हुन्थ्यौं। त्यो घटना हुँदा पनि भाई म र अन्य दुई जना छिमेकी भाइहरू श्रवण र ज्योद्धा गरि हामी चारजना पालैपालो पतङ्ग अर्थात चंगा उडाउने र उडेको चंगा आकाशमा अरुले उडाएको चंगासँग जुधाउने गर्न थाल्यौं। यसरी जुधाउँदा एउटाको चंगा काटिएर झथ्र्यो। त्यसरी झरेको चंगा आकाशबाट बतासिंदै झर्दा कहाँ पुग्थ्यो कहाँ१

त्यसरी उड्दै झरेको चंगा टिप्न छिटो दगुर्न पथ्र्यो, आफूले सकिएन भने अर्कैले टिपिहाल्थ्यो। त्यसरी दगुरेर पुग्ने क्रममा श्रवण भाइले पर्खाल नाघ्दा पर्खाल भत्किएर उसलाई चोट लाग्यो। त्यसलाई सामान्य रुपमा लिइयो। डरका कारण हामीले आफ्ना अभिभावकलाई बताएनौं। तर एक हप्ता जस्तो पछि त्यही कारण हो वा अरु कुनै कारण भन्न सक्दिनँ, त्यो भाइको मृत्यु भयो। अहिले सम्झँदा के कारणले उसको मृत्यु भयो होला भनेर मन नमिठो भइरहन्छ।

त्यस्तै होलीको समयमा पनि हामी फुच्चेहरू निकै रंग खेल्थ्यौं। हामीसँग के पैसा हुन्थ्यो र रंग किन्नरु त्यो बेला सुका, मोहर चल्थ्यो। त्यही सुका, मोहर जम्मा गरेर जति रंग आउँछ किन्यो अनि खेल्यो। रंग सकिए पछि एकअर्कालाई पानीले रुझाउँदै निकै बेरसम्म खेलिन्थ्यो।

ठूलाहरूले सडकको बिचमा बिजुलीको तार राख्ने खम्बा वा तारमै माथिल्लो भागमा वारिपारीबाट डोरी बाँधेर डोरीको बिच भागमा सानो घैँटो झुन्ड्याउँथे । त्यो घैँटो भित्र पैसा हुन्थ्यो। त्यसलाई फुटाउनु पथ्र्यो। त्यसलाई मटका फोड्ने भनिन्थ्यो। मटका फोड्न सजिलो हुन्थेन सबै भन्दा तल पाँच छ जना घोप्टो परेर सुत्थे। र उनीहरूको ढाड माथी टेकेर अरु तीन चार जना उभिन्थे। यसै क्रमले माथिल्लो भागमा एक जना पुगेर त्यो मट्का फोड्नु पथ्र्यो। जसले फुटाउन सक्थ्यो ऊ बिजेता हुन्थ्यो। त्यसरी मटका फुटालेपछि होली सकिन्थ्यो।

स्मरणीय लाग्छ ती पलहरू। हामी पहाडे र मधेसीबीच कुनै भेदभाव थिएन । त्यहाँका स्थानीय मधेसीलाई देहाती भन्ने चलन छ । देहाती भाषामा आत्मीयता, प्रेमयुक्त र आफ्नोपन भएर होला खुसी लाग्ने रहेछ ।

निकै समय पछिको होलीको रंगसँग रंगीन म मौकाले नेपालगन्ज पुगेकी थिएँ। इन्द्रेणीका सबै रंगहरूमा प्रेम घोलेर आकाशतर्फ उडाउँदै सडकमा हिँडिरहेकाहरूसंग बाल्यकालमा झैँ सराबरी भएर हिँड्दै थिएँ। होलीका रंगहरूलाई नजिकबाट सुम्सुम्याउन, चल्न र जिस्किन पाउँदा मलाई बाल्यकालमै पुगे झैँ महशुस भयो।

प्रेम बगिरहेको खोला जस्तै निश्चल र सुशोभित हुन्छ। हो त्यस्तै अनुभूति भइरहेको थियो मलाई । स्कुले जीवनमा ९र१० कक्षा पढ्दा सात जनाको हाम्रो समूह थियो। हामी आपसमा मिलेर होली खेल्थ्यौं। रंग खेल्दै नेपालगन्जबाट आठ किलोमिटर टाढाको खजुरासम्म हिँडेरै पुग्थ्यौं ।

नेपालगन्ज पश्चिम नेपालकै ठूलो सहर मानिन्छ। धनगढी, सुर्खेत, जुम्ला, हुम्ला, जाजरकोट सबैतिरबाट बजार गर्ने ठूलो शहर नेपालगन्ज। जन्मिरहुर्किएको ठाउँ त्यसै पनि रमाइलो लाग्ने नै भयो। त्यसमाथि नेपालगन्जमा होली नखेलेको बर्षौ भै सकेको थियो। धेरै समय पछि होलीको रंगमा डुबें म।

चाडबाडका बेला त्रिवेणीमोडदेखि अगाडि एकलैनी बजारबाट त्रिभुवन चोक सडकको बिच भागमा ठेलागाडामा पसलहरू राख्ने चलन छ। होलीका बेला परेकाले विभिन्न रंगहरूको थुप्रो रंङ्गीचङ्गी पिचकारीले शहर रंगीन दुलही जस्तै देखिएको थियो।

त्यो शहरको लोकन्ती भएर हिँडिरहेकी थिएँ म ।

नेपालगन्जमा घरबारीटोलदेखि बागेश्वरी मन्दिर पूल नजिक होलीको रंगले भुइँ राताम्मे थियो। होली खेल्नेहरूले कमेज टिशर्टहरू च्यातेर बिजुलीका तारमा हुर्‍याइएकाले पुरै तोरण जस्तो गरि कपडा झुण्डिरहेको थियो। बजार पुरै बन्द भए पनि होलीका रंगले उज्यालो बन्यो ।

रंगीन सडकलाई पाइतालाले स्पर्श गर्दा मस्तिष्कसम्म बाल्यकालको प्रेम सल्बलाउन पुग्थ्यो। उही बाल्यकालको सुका मोहरको रंगले रंगीए झै मन चंचल भएर रंगहरूसंगै मन आकाशतर्फ उडिरहेको थियो ।

रमाइलो हेर्दै हिँड्दै थिएँ कोहलपुरदेखि नेपालगन्जको बिचमा पर्ने राँझामा एकहुल युवायुवती होली खेल्दै ठुलो स्वरमा गीत बजाएर आँगनमा नाचिरहेका थिए । त्यही घरको छत माथी पाइपबाट तल नाचिरहेकालाई पानीको फोहराले रुझाइएको थियो ।

कोहि गीतको तालमा नाच्दै थिए भने कोहि भाङ खाएर आफ्नै सुरमा लठ्ठिएर हिँड्दै थिए। अत्यन्तै रमाइलो दृश्य पो देखियो१

पहिलापहिला नेपालगन्जमा तीन पाँग्रे रिक्सा (साइकल चलाए जसरी चलाउने) धेरै चल्थ्यो अहिले मोटर ब्याट्रीबाट चल्ने रिक्सा र बसले बजार लिएछ। घोडाले तान्ने टाँगा पनि चलेको देखिएन । पहिला ठेला, रिक्सा र टांगामा म्युजिक स्पिकरहरू राखेर सडक भरि होली खेल्दै हिँड्ने चलन थियो ।

बाहिरबाट आउनेहरूलाई घोडाले तान्ने रथ जस्तो त्यो टाँगा चढ्न ठुलो रहर हुन्थ्यो । एकपछि अर्को होलीका सम्झनाहरूले मन हुँडलिइरहेको थियो। सडकमा रिक्सा, साइकल र बसहरू ओहोरदोहोर गरिरहेकै थिए ।

तराईको ठाउँ वारीपारी खुला भएकाले परपरसम्म देख्न सकिन्छ । सडकमा पहिलेको जस्तो खाल्डाखुल्डी थिएन सडक सललल बगेको थियो दायाँबायाँ दोहोरोतिर खेतका गराहरूले एकआपसमा अंगालो हाले जस्तो खण्डखण्ड टाढासम्म देखिन्थ्यो । जति टाढा हेर्‍यो उति खुला आकाश घोप्टिएर भुइँलाई नै चुमिरहे जस्तो लाग्ने । तराइको सुन्दरतामा म हराई रहेकी थिएँ ।

खेतैभरि गहुँ पाकेर पहेंलै भएर घरको भकारीसम्म पुग्न कसैलाई पर्खिरहे जस्ता देखिन्थे । यसपटक पनि म नेपालगन्जबाट आठ किलोमिटर पर खजुरासम्म पुगें। खजुरा जानकी गाँउपालिका–४ निवासी शोभाराम नाउसँग मीठो संवाद गर्ने मौका जुर्‍यो ।

इँटाले बनेको तर राम्रो चिल्लो नभएको घरको भित्तामा माथिल्लो भाग धुवाँले कालो भएको र किल्ला ठोकेर बोराको झोलामा केही सामान झुन्ड्याइएको थियो। म पुगे पछि नजिकैको प्लास्टिकको कुर्ची तानेर मलाई बस्न भन्नु भयो । आफू चाहिँ फल्याक जोडेर बनाइएको खाटमा बस्नु भयो ।

उहाँले स्थानीय अवधी लवजमा निकै मीठो गरी होली पर्वका बारेमा सुनाउनु भयो, ‘पहिलेक जैसे कहाँ होलि है अबरु पहिले तो ढोलक बजाएके गाउँगाउँ घुमत रहें और एक दुसरेको रंग लगाई के मिठाई बतासा खाइके गले मिलावत रहें अब तो दारु पानी ज्यादा चलथ है।’ (पहिलाको जस्तो होली कहाँ छ र अहिले–पहिला त बाजा बजाएर गाउँगाउँ घुमेर एक अर्कालाई रंग लागाएर मिठाई खाएर एक अर्कोसँग अँगालो हालेर आत्मीयता बाँडिन्थ्यो अहिले त रक्सी धेरै चल्छ।)

त्यस दिन उहाँको अनुहारमा कुनै रंग पोतिएको थिएन। तर, लाग्थ्यो उहाँ भावनाका रंगहरूले रंगीन बन्नु भएको थियो। उहाँले रंगहरूको पर्व र आफ्नो रितीरिवाजदेखि जन्म मृत्युसम्मका कुराहरू सुनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिले बिटियाके नाई पढायक चलन रहा…ए तो दुसरेके घर जायवाली है काहे खर्चा किया जाय’ (पहिला छोरीलाई पढाउने चलन थिएन यिनीहरू त अर्काको घरमा जाने जात किन खर्च गर्नु) ।

यसरी उहाँले भनिरहँदा छोरी प्रतिको भेदभावले मुटु कटक्क खाई रहेको थियो मेरो। म एक निमेष उहाँलाई सुनिरहेकी थिएँ ।
आफ्ना पुर्खाहरू बर्दियामा रहेको र आफूहरू अहिले यता आएको सुनाउँदै गर्दा उहाँले बुहारी (काखमा दुधे बालक भएकी करिब १७ वर्षकी) लाई चिया पकाउन भन्नु भयो।

हामीले चिया गफ गर्‍यौं। मैले धेरै कुरा बुझ्न पाएँ ।

पहिलेपहिले विवाहका बेला डोरीले बुनेको चारपाई (खाट) र साइकल दाइजो दिने मान्छे धेरै धनी मानिन्थ्यो। तिनताका अहिले जस्तो दाइजोको माग धेरै हुँदैनथ्यो। अहिले त छोरी बिहे गर्न सार्है कठिन छ।

पहिले गहनाको रुपमा नाकमा लगाउने फोफी (ठूलो साइजको फुलि), सुराही (बुलाकी), हातमा कडा (मोटो खालको चुरा), कुइनोमा किडिया (बाला), घाँटीमा हमेल (गोलोखालको गहना), तौक (चाँदीको दुई तीन किलोको घाँटीमा लगाउने गहना) चलन थियो। खुट्टामा पनि गोलो खालको कडा लगाइन्थ्यो। अहिले त्यस्तो गहना कहाँ देख्न पाइन्छ र भन्दै विगतमा आफूले भोगेका रमाइला कुरा सुनाउनु भयो।

‘पहिलेपहिले अत्ता लम्बा घुँघट ओढेक परत रहे अब कहाँ ओ चलन देखेक मिली’ (पहिलापहिला शीरमा अनुहार छोपिने गरि लामो घुंघट हाल्नु पथ्र्यो, अब त त्यो चलन कहाँ देख्न पाइन्छ र), उहाँले केही असन्तुष्टि समेत ब्यक्त गर्नु भयो ।

नाउँ (कपाल काट्ने) जातीमा बच्चा जन्मिए पछि न्वारान र भात ख्वाई भन्ने चलन हुँदैन आमा बुबाले नै नाम राखिदिनु हुन्छ। बाहुन चाहिँदैन। त्यसैगरि मृत्यू संस्कारबारे उहाँ भन्दै हुनुहुन्थ्यो, ‘जिके खेत रहात वहि अप्ने खेतमे जलाई देथहे जिके नहोइ ओ ऐलेनि जग्गामे लैजाइके जलाईदेथहै तीन दिनके वाद राखी (खरानी) उठावा जाथहै और धार्मिक तिर्थस्थलमे लइजाईके पानीमे बहाईदेथ है।’

शहरमा भन्दा गाउँठाउँमा संस्कार र संस्कृतिको ठुलो महत्व हुन्छ । आफ्नो संस्कृतिले यस्तै महत्व बोकेको छ शोभारामको जीवनमा पनि ।

होलीको पौराणिक कथनअनुसार होलिकालाई जलाएर खुसी मनाइएको पर्वका रूपमा खुसिका रंगहरूसंग खेल्ने चलन बसेको हो। मधेसी समुदायमा वैरभाव नराखी मन अमिलो भएकाहरूसंग समेत आपसमा अंगालो मारेर सम्बन्धलाई राम्रो बनाउने पर्वका रुपमा होलीलाई मनाइन्छ।

जीवन जिउने क्रममा चालिएका पाइलाहरू कहिँ खुसी अनुभूति गराउने हुन्छन् भने कहिँ सम्झना मात्र । मानिसले जीवन र जगतसंगै आफूलाई हिँडाउन सक्यो भने कहिल्यै असन्तुष्ट हुँदैन।

धेरै समय पछिको होली यात्राले बाल्यकाल र वर्तमान स्थिति बिचको फरक अनुभूति दिलायो । बाल्यावस्थामा बिताएका पलहरू–घामसँग किरण नछुट्टीए झैँ, आकाशभित्र जूनतारा अडिए झैँ, बतासले सुस्तरी आएर केशराशी चुमेर अन्तै आफ्नो यात्रा जारी राखे झैँ अनुभव गरायो ।

फेरि उही अवस्थामा पुगेर रमाउने वातावरण बनेको थियो यसपालाको होली । सेतोपाटीबाट

Previous articleकोरोनाको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्छ : स्वास्थ्य मन्त्रालय
Next articleवातावरण दिवसमा बिभिन्न स्थानमा बृक्षारोपण (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here