
नेपालगञ्ज । बिश्व वातावरण दिवसको अवसरमा जिल्लाका बिभिन्न स्थानहरमा बृक्षारोपण गरिएको छ । दिवसको अवसरमा शनिबार बाँकेको सार्वजनिक एव धार्मिक स्थानहरुमा बिभिन्न व्यक्ति, समूहहरुले बृक्षारोपण गरेका हुन ।
दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ बसपार्कस्थित शिव पार्वती मन्दिर परिसर तथा अवधी पत्रकार संघ नेपालको भवन निर्माण स्थल परिसरमा बृक्षारोपण गरिएको छ ।
अवधी पत्रकार संघ नेपाल, परिवर्तन फाउण्डेशन नेपाल, मानव अधिकार शान्ति समाज बाँके, हिन्दु स्वयं सेवक संघको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको अवधी पत्रकार संघ बाँकेका अध्यक्ष चन्दे्रेश्वरराज त्रिपाठीले जानकारी दिनुभयो ।
दुबै स्थानमा मन्दिरका संरक्षक माधवराम बर्मा, संघका अध्यक्ष कृष्णा पाण्डे, समाज बाँकेका उपाध्यक्ष प्रेम शर्मा, हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय शारीरीक प्रमुख बिकुल दाहालको उपस्थितिमा लिप्टिस, अमला, बर पिपल लगायतका बिरुवा रोपिएको हो ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा न २ स्थित हनुमत गौशाला परिसरमा बृक्षारोपण गरिएको छ । वडा नं २ का वडा अध्यक्ष सुनिल सिंह हमाल, कशौधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्य, हरित अभियान्ता हेमन्तराज काफ्ले लगायतले बृक्षारोपण गर्नुभएको हो ।
यस्तै रुख रोपौं वातावरण संरक्षण गरौं, पैकृतिलाई बचाऔं भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० राँझा चोकमा रहेको सद्भाव बाटिकामा बृक्षारोपण गरिएको छ । बास लगायत संस्थाको आयोजनामा भएको बृक्षारोपण कार्यक्रममा नेपालगञ्ज २० का वडा अध्यक्ष कृष्ण कार्की, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह लगायत सहभागि हुनुभएको थियो ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्षेनी जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।










