भारतबाट जंगली हात्तीको ठुलो समूह नेपाल प्रवेश

बर्दिया । भारतबाट जंगली हात्तीको ठुलो समूह बर्दियास्थित खाता जैविक मार्गबाट नेपाल प्रवेश गरेको छ । बिहीबार भारतको कतर्नियाघाट बन्यजन्तु आरक्षबाट हात्तीको एक समूह बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको हो ।

बेलुका करिब पाँच बजेतिर ४०–४५ को संख्यामा रहेको हात्तीको समूह निकुञ्ज प्रवेश गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

‘हरेक बर्ष हात्तीहरुको ठूलो समुह यसैगरी भारतबाट नेपाल आउने गरेको छ । यो उनिहरुको नियमित बसाइँसराइ हो । गर्मी सकिएर जाडो सुरु हुन थालेपछि यो समूह भारततिरै फर्कन्छ,’ श्रेष्ठले भन्नुभयो ।

श्रेष्ठका अनुसार यो वर्ष निकुञ्जमा प्रवेश गरेको यो हात्तीको सबैभन्दा ठूलो समुह हो । उहाँले यसअघि पनि १०–१५ वटाको समूह निकुञ्ज प्रवेश गरिसकेको बताउनुभयो । थोरै संख्यामा हात्तीका अरु समूह पनि भित्रन सक्ने निकुञ्जले जानकारी दिएको छ ।

यस पटक नेपाल प्रवेश गरेका हरेक समुहमा छावाको संख्या धेरै छन् । बर्दिया राष्ट्रिय निकुन्जका अनुसार यो समय हात्तीका लागि यो क्षेत्र उपयुक्त हुन्छ, त्यसैले हरेक बर्ष यही समयमा हात्तीका थुप्रै झुण्ड नेपाल प्रवेश गर्ने गरेका छन् ।

नेपाल आएका ती हात्ती अहिले निकुञ्जको मुख्य क्षेत्रमा छन् । निकुञ्जको भित्री बाटो हुँदै उनीहरु बबई भ्याली सम्म बिचरण गर्ने गरेको श्रेष्ठले बताउनुभयो ।

‘४–५ वटाको सानो समूह बस्तीमा पस्ने खतरा हुन्छ तर ठूलो समुह बस्तीमा पस्ने सम्भावना कम हुन्छ’, उहाँले भन्नुभयो । नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको करिब २ किलोमिटर जति एक आपसमा जोडिएको छ ।

यसरी अर्काको देशसँग जोडिएको भागलाई जैविक मार्ग भन्ने गरिन्छ । जसमध्ये करिब ५ सय मिटर भागबाट नेपाल–भारतका जनावर वारपार गर्ने गरेको श्रेष्ठले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्जमा हाल करिव १००र१२० वटा हात्ती छन् । निकुञ्जका हात्ती बस्ती प्रवेस गरेर जनधनको ठुलो क्षति गर्ने गरेका छन् ।

हात्तीबाट बस्ती जोगाउन थुप्रै प्रयास भएपनि त्यो प्रभावकारी नभएको स्थानीयको गुनासो छ । हात्ती बस्तीमा पस्न नदिन निकुञ्जले मध्यवर्ती क्षेत्रका अधिकांश क्षेत्रमा बस्ति वरपर पर्खाल लगाएको छ ।

Previous articleव्यक्तिगत जग्गामा कुलो खनेको भन्दै दाङ तुल्सीपुरमा गोली चल्यो, दुई जना पक्राउ
Next articleक्यान्सर पिडित महिलालाई कसौंधन बैश्य समाजद्धारा आर्थिक सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here