इजरायलमा नेतन्याहूको १२ वर्षे शासन अन्त्य

एजेन्सी । दुई वर्षमा चार पटक आमनिर्वाचन भएको इजरायलमा विपक्षी गठबन्धनका दलहरूले १२ वर्षदेखि प्रधानमन्त्री रहेका बेन्यामिन नेतन्याहूलाई सत्ताबाट हटाएका छन् ।

आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा नेतन्याहू अल्पमतमा परेपछि उहाँ सत्ताबाट बाहिरिनुभएको छ ।

उहाँलाई हटाउँदै विपक्षी गठबन्धनका नाफ्ताली बेनेट नयाँ प्रधानमन्त्री बन्नुभएको छ । संसदमा भएको मतदानमा बेनेटको पक्षमा ६० र नेतन्याहूको पक्षमा ५९ मत आएको थियो ।

विपक्षीहरूबीच आफूलाई हटाउने सहमति भएलगत्तै सत्ता जोगाउन हरसम्भव प्रयास गरेका ७१ वर्षीय नेतन्याहूले आफू अरूले सोचेभन्दा छिटो सत्तामा फर्किने बताउनुभयो । नेतन्याहू सत्ताबाट बाहिरिनुलाई कतिपय विश्लेषकले एक युगको अन्त्य भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ प्रधानमन्त्री बेनेटलाई बधाई दिँदै आफ्नो सरकार इजरायलको नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको बताउनुभएको छ । विपक्षीहरूबीच भएको सहमति अनुसार दुई वर्षपछि बेनेटले सत्ता छोड्नु हुनेछ र याइर लापिड प्रधानमन्त्री बन्नुहुनेछ ।

उहाँहरूको गठबन्धनमा अन्य साना तथा मझौला दलहरू पनि सहभागी छन् । पहिलो पटक इजरायलका अरब अल्पसंख्यको पार्टी युनाइटेड अरब लिस्ट पनि सरकारमा सहभागी हुनेछ ।

मार्च २३ मा भएको पछिल्लो निर्वाचनको परिणाम अनुसार १२० सदस्यीय इजरायलको संसद कुनेसटमा नेतन्याहुको लिकुड पार्टीको ३० सिट छ । उहाँले अरू तीन वटा धार्मिक र राष्ट्रवादी पार्टीहरूसँग गठबन्धन गर्नुभएको छ । अहिले प्रधानमन्त्री बन्नुभएका ४९ वर्षीय बेनेटको पार्टीले उक्त चुनावमा ६ सिटमात्र जितेको थियो ।

१२ वर्ष सत्तामा रहँदा प्रधानमन्त्री नेतन्याहूमाथि विभिन्न आरोप लागेका छन् । उहाँ यस्ता प्रधानमन्त्री हुनुहुन्छ, जसको भ्रष्टाचार मुद्दामा अनुसन्धान पनि भइरहेको थियो र उहाँ प्रधानमन्त्रीको कुर्सीमा पनि कायम रहनुभएको थियो ।

पछिल्लो समय उहाँलाई बाह्य समस्या पनि थपिएका थियो । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि नेतन्याहूलाई प्यालेस्टाइन र इरानसँगको सम्बन्ध डोनाल्ड ट्रम्पको पालामा जसरी कायम राख्न असम्भव देखिएको थियो ।

ट्रम्पले नेतन्याहूलाई धेरै नै सहयोग गर्नुभएको थियो भने बाइडेनले त्यसो नगर्ने देखिएको थियो । केही दिनअघि इजरायलले गाजामा गरेको रकेट आक्रमणको विषयमा पनि अन्तर्राष्ट्रिय स्तरमा नेतन्याहूको आलोचना भइरहेको थियो ।

विपक्षी गठबन्धनको सरकार बनेपछि नेतन्याहूका आलोचकहरूमा खुसीयाली छाएको छ।

Previous articleअतिविपन्न परिवारलाई खाद्यन्न सहयोग
Next articleब्राउनसुगरसहित दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here