
बाँके । दुई दिनको भर्षाका कारण देशभर क्षति हुन थालेको छ । निरन्तरको वर्षापछि आएको बाढी र पानीका कारण समयमा सर्तकता नअपनाउँदा मानवीय क्षति समेत हुन थालेको छ ।
बाढीका कारण देशभरकै नदी तथा खोलाहरुमा पानीको बहाव बढेको छ । कतै खतराको लेभल पार गरिसकेको छ भने कतै नदीमा पानीको मात्रा बढ्दो क्रममा छ ।
लगातारको वर्षाका कारण बाँकेको राप्ती नदीमा पनि सामान्य दिनभन्दा बढि मात्रामा पानी पुगेको अवस्था छ । बाँकेमा खासगरी कुसुमस्थित बाढी मापन केन्द्रले खतराको घण्टी बजाउने बित्तिकै राप्ती तटिय क्षेत्रका बासीन्दाहरुलाई सावधानी अपनाउनुपर्ने हुन्छ ।
तर बाँकेको राप्तीमा बुधबार बिहान पौने एघारा बजेको समयसम्म पानीले अहिलेसम्म खतराको लेभल पार गरेको छैन । यो समयसम्म ५ दशमलव १७ को लेभलमा पानीको बहाव रहेको बाढी मापन केन्द्रले जनाएको छ । भने कुसुमस्थित अगैयास्थित राप्ती नदिमा बनाइएको व्यारेजको सबै ढोका खुला गरिएको छ ।
देशका सबै भुभागमा बाढी पहिरोले समस्या सृजना गरिरहेको अवस्थामा बाँकेमा भने उद्धार कार्यलाई तयारी अवस्थामा राखिएको छ । जिल्लाको राप्ती तटिय क्षेत्रमा उद्धार कार्यका लागि टोली परिचालन गरिएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
अहिलेसम्म खतराको लेभल पार गरेको छैन, अधिकृत ज्ञवालीले भन्नुभयो, तर पनि राप्ती तटिय क्षेत्रमा उद्धार कार्यका लागि टोली तयारी अवस्थामा रहेको छ । यद्यपि तटिय क्षेत्रका बासीन्दाहरुले सावधानी अपनाउनुपर्छ ।
तटिय क्षेत्रका बासीहरुले नदीमा पानीको मात्रा बढ्न पनि सक्ने भएकाले सर्तक रहन आवश्यक छ । यस्तो अवस्थामा नदी आसपास नजान आग्रह गरिएको छ । राप्तीमा पानीको बहाव ५ दशमलव ४ पुगेपछि खतराको लेभल मानिन्छ ।
बाँकेको कुसुमस्थित अगैया व्यारेज, तस्बिर : हेमन्त चौधरी





