
ठाकुरबाबा । बर्दियाको बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा कोरोना भाइरसका कारण सदस्य गुमाएका परिवारलाई खाद्यन्न सहयोग प्रदान गरिएको छ । कोभिड १९ को कहरका कारण यी दुबै पालिकामा सदस्य गुमाएका गुमाएका परिवारलाई १ लाख ३४ हजार ९ सय ७९ रुपैया बराबरको खाद्यन्न सेट बितरण गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले ठाकुरबाबा नगरपालिकाका ४ परिवार र बारबर्दिया नगरपालिकाका ६ परिवारलाई सहयोग गरेको हो । कोभिड १९ कारण आमाबुवा गुमाएका बालबालिकाहरुलाई सहयोग पुर्याउने उद्देश्यले खाद्यन्न प्रदान गरिएको गेरुवाका अध्यक्ष कृष्णजंग शाहले बताउनुभयो ।
दुबै पालिकाका वडा अध्यक्षहरुको समन्वयमा प्राप्त विवरणको आधारमा संघका कर्मचारीले घरभेट गरेपछि सहयोग गरिएको अध्यक्ष शाहले जानकारी दिनुभयो । सहयोग लिन नहुनेले पनि सहयोग प्राप्त गर्न सक्रिय हुने भएकाले संघका स्थानीय कर्मचारीहरुले बिवरणका आधारमा घरभेट गरेको अध्यक्ष शाहले स्पष्ट पार्नुभयो ।
प्रति परिवार १३ हजार ४ सय ९७ रुपैया बराबर एक जनालाई १०० किलो चामल, २५ किलो मसुरको दाल, ५ लिटर खाने तेल, ५ किलो चना, ५ किलो सिमीको दाल, ५ किलो केराउ, ५ किलो चिनी, ६ किलो नुन र १५ पसि साबुन सहयोग प्रदान गरिएको गेरुवाका कार्यक्रम संयोजक रामरुप कौशलले जानकारी दिनुभयो ।






