शिक्षकलाई पनि कोरोना विरुद्धको खोप लगाउन माग

नेपालगञ्ज । शिक्षकहरुलाई पनि कोरोना विरुद्धको खोप अविलम्ब लगाइनुपर्ने माग गर्दै नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समितिले ज्ञापन पत्र बुझाएको छ।

नेपालगञ्ज उप महानगरपालिका प्रमुख डा.धवल शमसेर राणा समक्ष मंगलबार नगर क्षेत्रभित्रका शिक्षक तथा उमेर पुगेका विद्यार्थीहरुलाई पनि कोरोनाविरुद्धको खोपको व्यवस्था गराउन मागसहित उक्त ज्ञापन पत्र बुझाएको हो ।

कोरोनाको बढ्दो जोखिममा शिक्षक लगातार रहदै आएकोले पेशागत दायित्व निर्वहनमा खोपले थप बल पुग्ने बताउँदै शिक्षकहरुलाई अविलम्ब खोपको व्यवस्थाको माग गरिएको जनाइएको छ ।

नगर अध्यक्ष मनोजराजा श्रीवास्तव तथा सचिव केशवराज शर्माको संयुक्त रुपमा हस्ताक्षरित उक्त ज्ञापनपत्र बुझाउदै सो अवसरमा महासंघ केन्द्रिय सदस्यद्वय द्रोण वली, गणेशा कार्की, प्रदेश सदस्य मीना चन्द, नेपाल शिक्षक परिषद बाँके अध्यक्ष वृजेश बहादुर सिंह, नगरसमितिका पदाधिकारी तथा सदस्यहरुको विशेष उपस्थिति रहेको थियो ।

त्यसैगरी, शिक्षक महासंघ नेपालगन्ज नगर समितिले कोरोनाका कारण देशभरबाट ज्यान गुमाउने दुई सय बढी शिक्षकहरु प्रति शोक समवेदना प्रकट गर्दै मंगलबार साँझ स्थानीय विपी चौकमा मैनबत्ती प्रज्वलन गरेको छ ।

शिक्षक महासंघको राष्ट्रिय कार्यक्रम अनुसार जारी शिक्षक आन्दोलनको चौथो चरण परिचालनका लागि नगर अध्यक्ष श्रीवास्तवकै संयोजकत्वमा १७ सदस्यीय एक आन्दोलन परिचालन समिति पनि गठन गरेको छ ।

आन्दोलनको चौथो चरण अन्तरगत असार १८ गते स्थानीय सरकार समक्ष बिहान १० बजेदेखि १ बजेसम्म धर्ना गर्ने लगायतका कार्यक्रम रहेका छन् । शिक्षकहरुको विभिन्न ३४ बुदेँ माग अझै सुनुवाइ नभएको भन्दै उनीहरु चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन ।

Previous articleबाँकेमा १८ औं राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव मनाइयो
Next articleस्कुटीको डिक्कीभित्र लुकाइएको चितुवाको छालासहित दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here