
दिपकजंग शाही, सुर्खेत । राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बुधवार दिउँसो उनीहरूलाई कारागार चलान गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ ।
न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
‘आजै इजलास बसेर कारागार चलान गर्न आदेश भएको छ, उनीहरूलाई थुनामा पनि लिइसकिएको छ,’ उहाँले भन्नुभयो ।
गुर्भाकोट नगरपालिका ९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भुपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको हो । उनीहरूलाई प्रहरीले जेठ २३ गते बिहान ३ बजे पक्राउ गरेको थियो ।
मिलनले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौनहिंसा भएको थियो ।
दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो ।
फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए । यो घटना हुँदा उनीहरू गुर्भाकोट नगरपालिका ११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए ।
अहिले उनीहरू त्यो ठाउँबाट सल्यान बसाइँ सरेका छन् । असार ७ गते उनीहरू सल्यानको कालिमाटी गाउँपालिकामा बसाइँ सरेका हुन् । साभार : सेतोपाटी





