खाईपाई आएको सेवा खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै बैंकका कर्मचारी आन्दोलित

काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । आन्दोलनको पहिलो चरणमा बैंकिङ क्षेत्रका कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि कालो ब्यानर टागेर विरोध प्रदर्शन गरेका छन् ।

खाईपाई आएको सेवा सुविधा समेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीहरु असन्तुष्ट थिए । कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् ।

सिद्धार्थ बैंकमा कार्यरत विशालबावु खतिवडाले विद्यमान व्यवस्थाहरु संशोधन भएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै विरोध प्रदर्शन गरेको बताउनुभयो । उहाँका अनुसार बुधबार कर्मचारीहरुले आफ्नो कार्यालय अगाडी योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? भन्ने ब्यानर राखेका प्रदर्शन गरेका छन् ।

आईएलओ अभिसन्धि १९४९ (नं) ९८०, नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टू अर्गनाइजेसन एण्ड राइट टू कलेक्टीभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोले तथा खाइपाई आएको सेवासुविधा घट्ने र तिन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकोले आन्दोलनमा उत्रनु परेको बताउनुभयो ।

यसैगरी नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले विगत २ बर्षदेखि उठाएका विषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, विनियम र कार्यविधीमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफ्ती गरिएको, योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई बाध्यकारी भएको र न्यूनतम ज्यालारपारिश्रमिकबाट बञ्चित बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेकोले आन्दोलनमा उत्रनु परेको कर्मचारीहरुले बताएका छन् ।

फियनका महासचिव हरिराज खरेलका अनुसार बुधबार सबै बैंक तथा वित्तीय संस्थाको कार्यालय अगाडि विरोध प्रदर्शन भएको छ । ‘पहिलो चरणमा हामीले किन जान सक्दैनौं भन्दैछौं भन्ने कुरा बुझाउन ब्यानर राखेर विरोध गरेका छौं, आगामी दिनमा पनि हाम्रो माग सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम घोषणा हुन्छ’ महासचिव खरेलले भन्नुभयो ।

Previous articleराउटे युवतीमाथि यौनहिंसा गर्ने तीन जना पुर्पक्षका लागि जेल चलान
Next articleवर्तमान सरकारबिरुद्ध नेपालगञ्जमा प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here