
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकामा शुक्रबार शिक्षकहरुले तीन घन्टा धर्ना दिएका छन् ।
सरकारले आफ्ना विभिन्न ३४ बुदेँ माग तथा विगतमा भएका सम्झौता पनि कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णय अनुसार आन्दोलनको चौथो चरण अन्तरगत सामुदायिक विद्यालयका शिक्षकले त्यसरी आफ्नो पालिका स्तरमा धर्ना दिएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकामा बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म जारी उक्त धर्नामा सामुदायिक विद्यालयका शिक्षक( कर्मचारीहरु, बालविकास शिक्षकहरु तथा पेशागत संघ संगठनको प्रतिनिधिमुलक उपस्थिति रहेको स्थानीय आन्दोलन परिचालन समितिले जनाएको छ।
सरकारले शिक्षक, उमेर पुगेका विद्यार्थीहरुलाई अविलम्ब कोरोना खोपको लगाइनुपर्ने तथा बालबिकास शिक्षक, विद्यालय कर्मचारीका बारेमा बिगतका सम्झौता पूरा नभएको भन्दै उनीहरु चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन ।
स्थानीय आन्दोलन परिचालन समिति नेपालगन्जको संयोजनमा उक्त धर्ना दिइएको हो । धर्नापछि नेपालगन्जका मेयर डा.धवल शमसेर राणालाई उहाँकै कार्यकक्षमा भेटेर आन्दोलनको औचित्य, प्राप्त एक्यवद्धता तथा स्थानीय सरकारको भुमिकाबारे थप जानकारी गराउदै जारी आन्दोलनको आगामी कार्यक्रमसहित मागपत्र पनि बुझाइएको स्थानीय आन्दोलन परिचालन समिति संयोजक मनोजराजा श्रीवास्तवले बताउनु भयो ।
भेटका क्रममा मेयर राणाले आफ्नो अधिकारक्षेत्र भित्रका मागहरु पूरा गर्ने आश्वासन दिनु भएको बताइएको छ। धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्यद्वय द्रोण वली, गणेश कार्की, प्रदेश सदस्य मीना चन्द, नेपाल शिक्षक संघ बाँके अध्यक्ष वीरेन्द्र यादव, नेपाल शिक्षक परिषद अध्यक्ष बृजेशबहादुर सिंह लगायतका शिक्षक नेताहरुको सहभागिता रहेको थियो ।






