
नेपालगञ्ज । नेपाल र भारत प्रमुखहरुबीच जिल्लास्तरीय बैठक बसेको छ । बहराईच जिल्लामा नयाँ प्रमुख आएपछि आयोजना गरिएको परिचयात्मक बैठक सोमबार अपरान्ह शसस्त्र सीमा बल (एस एस बी) ५९ औं बटालियन नानपारामा बसेको थियो ।
बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीका अनुसार बैठकमा जिल्ला बहराईच, नेपालतर्फ बाँके र बर्दियाका प्रहरीबीच अपराध नियन्त्रणमा भइरेको पहलबारे छलफल भएको छ । साथै बैठकमा दुबै देशको सीमा क्षेत्रमा हुने अपराधका नियन्त्रणका लागि अपनाउन सकिने उपायका बारेमा समेत छलफल भएको छ । सो क्रममा सीमा क्षेत्रमा भएका सुरक्षा जाँच व्यवस्था बारे समेत जानकारी आदान प्रदान गरिएको छ ।
बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, बर्दियाका प्रहरी प्रमुख इश्वर कार्की र भारततर्फ जिल्ला जनपद बहराईचका जिल्ला अधिकारी डा.दिनेश चन्द्र, पुलिस अधिक्षक सुजाता सिंह, अपर पुलिस अधिक्षक ग्रामीण अशोक कुमार, एस डि एम नानपाराका राम आसरे बर्मा, एस डि एम मोतिपुरका क्षेत्राअधिकारी नानपारा जेबी यादव लगायत अधिकारीको सहभागिता रहेको थियो ।






