नेपालगञ्जका १० र १२ बाल विवाहमुक्त वडा घोषणा

नेपालगञ्ज उपमहानगरपालिकाका दुई वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नेपालगञ्ज उपमहानगरपालिका वडा नं–१० र १२ लाई बाल विवाह मुक्त नेपालगञ्जकै पहिलो वडाका रुपमा घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर, वडा नं १० का वडा अध्यक्ष बिन्दु भुषण बस्नेत, वडा नं १२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदी, बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, बाल क्लब, दुबै वडाका संघ संस्था, अभिभावक तथा किशोरी क्लबका पदाधिकारीको उपस्थितिमा वडालाई बाल विवाहमुक्त घोषणा गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) को आर्थिक सहयोगमा भएको घोषणा समारोहकै अवसरमा बाल बिवाह बिरुद्ध कार्य गरेका व्यक्तिहरुलाई कदर पत्रले सम्मानित गरिएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, महिला सेल, नेपालगञ्ज उपमहानगरपालिका, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा, शिक्षा तथा खेलकुद शाखा, दुई वटै वडाको स्वास्थ्य कार्यालयलाई सम्मान पत्र प्रदान गरिएको छ ।

घोषणा समारोहमा बाल विवाहको अवस्था अध्ययनको सार पत्रकार शंकर खनाल र स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले प्रस्तुत गर्नुभएको थियो । बाल विवाह मुक्त अभियान संचालन निर्देशिका २०७७ मा बाल विवाह मुक्त घोषणा गर्नका लागि १३ वटा सूचक र सोही सूचक अनुसार वार्षिक जम्मा विवाहको दर भन्दा २० प्रतिशत कम बाल विवाहको अवस्था देखिएपछि घोषणा गरिएको हो ।

वडा नं १२ का वडा अध्यक्ष सुबेदीको अध्यक्षतामा भएको घोषणा समारोहमा प्रस्तुत गरिएको सर्वेक्षण अनुसार वडा नंम्बर १२ मा ११ दशमलव २७ प्रतिशत र वडा नम्बर १० मा १० दशमलव ७१ प्रतिशत बाल विवाहको अवस्था देखिएको छ ।

कार्यक्रममा नेपालगञ्ज महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, प्लान क्षेत्रीय कार्यालय सुर्खेतका संचार संयोजक जनक गिरी, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे, टिम लिडर नेत्रकला शाही लगायतको समेत उपस्थिति रहेको थियो ।

Previous articleआइ.एन.एफ.बाँकेद्धारा आइसोलेसन सेन्टरलाई आवश्यक सामाग्री सहयोग
Next articleनेपालगञ्ज भन्सार कार्यालयद्धारा २० अर्ब बढि राजश्व संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here