बाँकेमा रगत अभाव, दैनिक अनुरोध गर्दै सेवा केन्द्र

नेपालगञ्ज । बाँकेमा रगतको अभाव देखिएको छ । पछिल्लो समय कोरोनाकहरका कारण रक्तदाता गर्नेहरुको संख्या घटेपछि जिल्लामा रगत अभाव देखिएको हो । रगत अभावपछि जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि पुग्ने बिरामीहरुलाई रगत पाउन मुस्किल बनेको छ ।

जिल्लामा रगतको माग बढि भएको तर रक्तदाताको संख्या कम भएकाले बिरामीलाई रगत पाउन मुस्किल बनेको देखिएको हो । भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जिल्लामा रगत अभाव भएको बताउनुभयो ।

“नेपालगञ्ज कोहलपुरस्थित रक्तसंचार केन्द्रबाट हाल दैनिक ४० देखि ५० पिन्टसम्म रगतको आवश्यकता छ ।”– सेवा केन्द्रका प्रमुख रेग्मीले भन्नुभयो”–तर रक्तदाताको संख्या भने आवश्यकताको ठिक चार भागको एक भाग रहेको अवस्था छ । त्यस कारण रगत अभाव देखिएको छ ।”

कोरोना संक्रमणका कारण जिल्लामा नियमित रपमा भइरहने रक्तदान कार्यक्रमहरु पनि अहिले रोकिएका छन् । पछिल्लो समय कमै संघ संस्थाले रक्तदान कार्यक्रम गर्ने गरेका छन् । रक्तदान कार्यक्रम नियमित रुपमा भइरहँदा रगतको आवश्यकता अनुसार उपलब्धता रहेको थियो ।

रक्तसंचार सेवा केन्द्रमा रगत अभाव भएपछि सेवा केन्द्रका प्रमुख रेग्मीले हाल दैनिक रक्तदानका लागि अनुरोध गर्ने गर्नुभएको छ । “दैनिक रुपमा गम्भीर अवस्थाका बिरामीलाई तत्काल रगत चाहियो भनेर बिरामीका आफन्त आउनुहुन्छ ।” –रेग्मीले भन्नुभयो–”हाम्रो केही उपाय लाग्दैन, अनि रक्तदाता तथा संस्थाहरुलाई गुहाछौं ।”

दैनिक ५ देखि १० वटा संघ संस्था तथा समूहलाई रक्तदानका लागि अनुरोध गर्ने गरिएको प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

Previous articleपाटेश्वरी आ.बि.मा छात्रबृति तथा छात्रालाई स्योनेटरी प्याड बितरण
Next articleएकता युवा क्लब पुरैनीद्धारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here