अदालतबाट हराइए पनि यस कारण जितेका छन् , ओली !

राजनीति र सत्तालाइ एउटै रुपमा बुझेर अहिले नेपालमा निवर्तमान प्रधानमन्त्रीलाई असफल र हारेको पात्रको रुपमा चित्रण गरिएको छ । आम निर्वाचनपछि के.पी ओलीको नेतृत्वमा सरकार गठन भएदेखि नै एक सुत्रीयरुपमा उनलाई असफल बनाउन लागेका हरेक तहका व्यक्तिहरुले सरकारको बहिर्गमनलाई ओलीको हार वा ओरालो यात्राको रुपमा चित्रण गरेर देशमा भएका सबै प्रकारका समस्याको कारण नै ओली थिए भनेर चित्रण गर्ने प्रयत्न गरिएको छ ।

यो बुझाई सत्तालाई नै राजनीति हो, भनेर बुझ्ने बुझाईको परिणाम हो । एमाले अध्यक्ष के.पी. शर्मा ओलीलाई सहज रुपमा काम गर्न नदिन र असफल बनाउन सरकार गठन भएदेखि नै प्रयत्न नभएका होइनन्, तर सरकारको अवधि २ बर्ष पुगेपछि सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने संबैधानिक अड्चन हटेदेखि र प्रधानमन्त्रीले दोस्रो पटक मृगौला प्रत्यारोपण गरेदखि पार्टी भित्रैबाट चौतर्फी घेराबन्दी बढाइयो ।

पार्टी भित्रैबाट र प्रतिपक्ष दलहरुका सबै प्रकारका हतकण्डा, उपाय र हतियार प्रयोग गरिसकेपछि सर्वोच्च अदालतको असार २८ गते गरेको फैसला र परमादेशको आडमा सरकारको बहिर्गमन गराउन सफल भएकोमा यतिबेला ठूलो युद्ध जितेको जसरी हर्सोल्लास गर्दै सत्तारोहण गरिसकेको छ । पार्टी सञ्चालन गर्ने क्रममा के.पी ओलीले प्रतिष्पर्धीलाई मिलाउन सकेनन् होला, तर सरकार सञ्चालनमा के.पी.ओलीले ऐतिहासिक काम गरेका छन ।

के.पी.ओलीलाई सर्वोच्च अदालतबाट हराइए पनि यस कारण जितेका छन् ।

१. नेपालको राष्ट्रियता र दिर्घकालिन महत्वका कार्यहरु :
नेपाललाई भुपरिवेष्ठित मुलुकबाट भुजडित मुलुक बनाउने योजनाका साथ बैदेशिक पारवहनमा भारतसंग मात्र निर्भर रहेको नेपालले चीनसंग पारवहन सम्झौता गरि चार वटा बन्दरगाह प्रयोग अनुमति पाउनुले नेपालले विगतको जस्तो अपमानजनक रुपको नाकाबन्दी अब सहन नपर्ने परिस्थिति निर्माणमा महत्वपुर्ण अग्रसरता लिएर काम गरेको छ ।

राजा महेन्द्रको पालादेखि भारतले एकतर्फी रुपमा कब्जा गरी राखेको र अहिले सम्मका राष्ट्र प्रमुखले नदेखेको कालापानी, लिपुलेख र लिम्पियाधुरा सहितको ३३५ बर्ग किलोमिटर क्षेत्रफलको नेपाली भुमीमा आफ्नो दाबी गरि नेपालको नयाँ नक्सा प्रकाशन गरि अभुतपुर्व राष्ट्रिय एकताको साथ संसदबाट संबिधान संसोधन गराई नेपालको नयाँ नक्सा पास गर्ने कार्य ऐतिहासिक र राष्ट्रबादी कार्य हो । भारतसंगको खुला सिमा नाकाका कारण सिमावर्ती क्षेत्रका नेपाली नागरिकले भारतीय सिमा सुरक्षा बलका कारण भोग्नु परेको अपमानलाई कम गरि नेपाली नागरिक तथा भुमीको सुरक्षाको लागी सयौँको संख्यामा बोर्डर आउट पोष्ट स्थापना गरि ससस्त्र प्रहरी बल तैनाथ गरेको छ ।

२. स्वाभिमान उठाउने ऐतिहासिक काम :
कुटनितिकरुपमा ओली सरकारको पालामा धेरै महत्वपुर्ण कार्यहरु भएका छन । सरकारको गठनसंगै भारतले विराटनगरमा राखेको फिल्ड अफिस हटाउने कार्य गरेको सरकारले लामो समयदेखि हुन नसकेको उत्तरी छिमेकी चीनका राष्ट्रपतिको भ्रमण गराउन सफल भयो ।

भारतले एकतर्फी नक्सा पास गरि हाम्रो भुभाग समेटेको विरोध गर्दै संसदमा सत्यमेव जयते वा सिंहमेव जयते भनेर भारतलाई औला ठड्याउने प्रधानमन्त्री ओलीलाई भविष्यले सगौरव स्मरण गर्ने छ । बडे भाइ र छोटे भाईको परिभाषालाई परिवर्तन गरि समान सार्वभौम देशको समान हैसियत हुने कु्रा भरतकै पत्रकारसंग पाठ पढाएको सुन्दा नेपालीको मुटु गर्वले फुलेको हो । विभिन्न बाहाना बनाएर भारतिय गुप्तचर तथा कर्मचारी भेट्न दिल्ली जाने परम्परालाई फेरेर प्रधानमन्त्री भेट्न काठमाण्डौ आउने वातावरण तथा सिमा समस्या समाधानमा द्धिपक्षीय कार्यादलमा छलफल गराएर समाधानको लागी प्रतिवेदन समेत तयार पारेको छ । अमेरिका र नेपाल बिच दशकौँसम्म हुन नसकेको मन्त्रीस्तरिय बैठक सम्पन्न गरेर नेपाल अन्तर्राष्ट्रिय स्तरमा सुनिने र देखिने बनाएको हो ।

३. बिकास निर्माण र सम्बृदीको यात्रा :
प्रधानमन्त्रीले सत्ता सम्हाल्दै गर्दा देश भुकम्पले ढलेको थियो । सुखी नेपाली सम्बृद्ध नेपालको नारा दिएर सरकारले भुकम्पले ढलेका निजि निवास निर्माण विभिन्न ठाउँमा एकिकृत बस्ती निर्माण गर्ने कामलाई करिव सम्पन गरिसकेको छ । नेपालका ठूला आयोजनाहरु मेलम्ची, अपर तामाकोशी, गौतम बुद्ध विमानस्थल, हुलाकी राजमार्ग, उत्तर दक्षिण मार्गहरु निर्माण गर्ने कार्य गरेर देशलाई विकासको गतिमा अगाडी बढाउने कार्य गरेको छ ।

‘मै बनाउछु मेरो धरहरा अभियान’ चलाएर स्वदेशी लगानी र सिपमा धरहरा दोब्बर उचाईमा ठड्याउन सफल भएको छ । काठमाण्डौ उपत्यकाका रानी पोखरी लगायतका सम्पदाहरुको पुनर्निमाण सम्पन्न भएका छन् । सरकार गठन हुँदासम्म विवादमा रहेको महत्वपुर्ण योजना तराई काठमाण्डौ द्रुतमार्ग नेपाली सेनालाई जिम्मा दिएर तिव्र काम भइरहेको छ । आफै सिलन्यास गरेर लुम्बिनी र काठमाण्डौमा हजारौँ क्षमताको सभाहल निर्माण सम्पन्न भएका छन । रेल सञ्चालनको लागी ल्याइएको छ । पेट्रोलियम पाइप लाईन सञ्चालनमा ल्याइएको छ । देशलाइ सुरुङ मार्गको युगमा प्रवेश गराएर कार्य अगाडी बढाइएको छ । समग्र बिकास निर्माणका कार्यले तिव्रता पाएका छन ।

४. सामाजिक सुरक्षाको क्षेत्रमा :
नेपालको ईतिहासमा निजि क्षेत्रमा काम गर्ने श्रमिकको लागी योगदानमा आधारीत सुरक्षा कार्यक्रम लागु गरी न्युनतम पारिश्रमिकमा वृद्धि गरियो । घातक रोगको उपचार तथा मृगौला डायलासिस निःशुल्क, स्वास्थ्य बिमाको क्षेत्र व्यापक विस्तार । तराइका दलित समुदायका गरिव मानिसका हजारौँ घर निर्माण गरेर सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा समेत उल्लेख्य कार्य गरेको छ ।

५. ठूला जग्गा घोटालाको छानविन :
विगतका सरकारका पालामा योजनाबद्ध तरिकाले हडपेका सरकारी जग्गाको छानविन गर्न प्रधानमन्त्री के.पी.ओलीले आयोग बनाएर छानविन गराएर फिर्ता गराउने पहल शुरुवात गरे । काठमाण्डौको मुटुमा रहेको बालुवाटारको ललिता निवास काण्डले देशका धमिराको निद हराम भएदेखि नै पार्टी भित्रैबाट जसरी पनि हटाउने पहल शुरु भएको तथ्य प्रष्ट छ । ललिता निवासको ११३ रोपनी जग्गा फिर्ता गराउने कार्यलाई अन्तिम चरणमा त्यहि सर्वोच्च अदालतले रोकिदिएको छ । जसको परमादेशमा सरकार बहिर्गमन भइ शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । उक्त जग्गा काण्डमा आरोपित तत्कालिन शहरी बिकास मन्त्री बिजय कुमार गच्छदार जो डेढ बर्षदेखि फरार थिए । सरकार गठनको भोलि पल्ट नै अदालतमा हाजिर भई धरौटीमा छुटेका छन र उनले दिएको बयानमा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको निर्देशनमा उक्त फाइल तयार पारेको कुरा उल्लेख गर्नुले एमाले भित्रको विवाद सरकार परिवर्तन र अदालतको अन्तरिम आदेशका बिचको सम्बन्ध आगामी दिनमा खुल्दै जाला । यद्धपी यस सरकारको पालामा देशका बिभिन्न भागमा हडपिएका हजारौँ रोपनी जग्गा सरकारको स्वामित्वमा फिर्ता ल्याइएको छ ।

६. माहामारीको डटेर सामना :
२०२० को शुरुवातसंगै विश्व व्यापी महामारी कोभिड-१९ को नेपालमा आगमन हुँदा नेपालको स्वास्थ्य अवस्था यति कमजोर थियो, अर्थतन्त्र कमजोर थियो तयारी थिएन । तथ्यले बोल्दछ नेपालमा कोभिडको पहिलो केशको परिक्षण हङकङमा गरिएको थियो । अमेरिका र युरोपका महाशक्तिहरु कोभिडको विरुद्ध घुडा टेक्दा समेत सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म प्रभावकारी कार्य गरेकै कारण नेपालले अकल्पनिय क्षति व्यहोर्न परेन । हाल नेपालमा ९० भन्दाबढि स्थानमा कोभिड परिक्षण ल्याव स्थापना भएका छन । लाखौँको संख्यामा क्वारेन्टाइन राख्ने तथा सरकारी अस्पतालमा निःशुल्क उपचार गरेर आर्थिक रुपमा सम्पन्न रहेका देशले समेत गर्न नसकेको काम नेपाल सरकारले गरेको हो ।

कोभिड परिक्षण निःशुल्क गरेको छ । स्वास्थ्य पुर्वाधार पालिकास्तरमा पुर्याउन अस्पताल निर्माण भइरहेका छन । हाल विश्वभरी खोपको माग तिव्र भएको समयमा समेत नेपालले विभिन्न देशबाट खोप ल्याएर ३५ लाख लगाइ सकेको छ, भने लाखौ खोप आउने क्रममा छ । आर्थिक बर्षको बजेटमा खोप खरिदको लागी २६ अर्ब रकम छुट्याएर निःशुल्क खोप लगाउने कार्यक्रम सुनिश्चित गरिएको छ । स्मरण रहोस: कोभिड महामारी शरु भएदेखि नै आफ्नै पार्टी भित्रबाट सरकारलाई पुर्ण असहयोग गर्ने घृणित काम शुरु भएको हो ।

७. मिथ्या आरोप र पुर्वाग्रह :
प्रधानमन्त्री के.पी शर्मा ओली नेपाली राजनीतिको त्यस्तो पात्र बनेका छन । जसलाइ पुर्वाग्रहको आधारमा मिथ्या आरोप लगाई जबरजस्ति प्रमाणीत गर्न खेजिएको छ । झुट कुरालाई सयौँ पटका सहि हो भनेर सहि प्रमाणीत गर्ने गोवयल्स शैली अपनाएर प्रधानमन्त्रीलाई बदनाम गर्ने प्रयत्न गरिदैछ । जसले आफ्नै सक्रियतामा ललिता निवास जग्गा काण्डको छानविन गरायो र जग्गा फिर्ताको पहल गर्यो उसैलाई त्यस काण्डको अपराधीको रुपमा वर्णन गरिएको छ । नेपाली राजनीतिमा भ्रष्टाचार र नाताबाद सबैभन्दा ठूला विसंगती हुन । जसले आफ्नो जग्गा र सम्पत्ति शेषपछि गुठी निर्माण गरि गुठीको नाममा हस्तान्तरण गरेको छ । उसैलाइ भ्रष्टाचारीको आरोप लगाएर चिच्चाई रहेका छन । नेपालको कुन चाँही नेताले व्यक्तिगत सम्पत्ति गुठीको नाममा हस्तान्तरण गरेको छ ? नेपाली जनताले जान्न चाहन्छन । के के.पी.ओलीका भाई, बहिनी आफन्त छैनन् ? छन भने उनको कार्यकालमा कुन कुन राजनितिक नियुत्ति लिएर बसे ? परिवारभित्रकै दर्जनौको संख्यामा व्यक्तिलाई अवसर दिने नेताहरुले उल्टै आरोप लगाइ रहेका छन ।

के.पी ओलीलाई लाग्ने अर्को आरोप हो, संविधान मिचेको हो । के.पी ओलीले संसद बिघटन रहरले होइन वाध्यताले हो । कुनै पनि प्रधानमन्त्री परिवर्तन गर्न संसदिय दलमा दलको नेता परिवर्तन गर्नुपर्ने सामान्य दलिय राजनीतिबिरुद्ध जब जालझेल शुरु भयो अवस्था यहाँसम्म आइ पुगेको छ । अदालतबाट संसदलाई निर्दलिय हैसियतको मान्यता दिएर शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाएर संबिधानको मर्ममाथि नै प्रहार गर्न लगाएर के.पी हटाएको जश्न मनाउनेहरुले यस घटनाले निम्ताउने दुष्परिणाम सुदुर भविष्यसम्म भोग्ने छन ।

राजनीतिलाई नै सरकार सम्झिने अल्प बुभाइमा के.पी.शर्मा ओलीको हार भएको बुझेता पनि उनले अदालतबाट हराइएर पनि राजनीतिक युद्ध जितेका छन । उनको अडान विदेशीलाई मन नपरे पनि स्वाभिमानी नेपालीले सदा सम्झिने छन । उनले पार्टी भित्रको चित्त बुझाउन सकेनन् होला, तर चुच्चे नक्साले सम्पुर्ण नेपालीको चित्त जितेका छन । उनले श्रमिकको पारिश्रमिक बढाउदा उद्योगपतिहरु रुष्ट होलान् तर लाखौँ श्रमिक र तिनका परिवारको आत्मामा बसेका छन । बिदेशीको हण्डी खाएर पित पत्रकारीता गर्ने केही संख्याका पत्रकारको नजरमा ओली दम्भी होलान्, तर श्रमजीवि पत्रकारका संरक्षक हुन् ओली ।

पुर्वाग्रहले ग्रस्त पार्टी भित्रका आत्मघातीहरुलाई निरंकुश होलान तर सर्वसाधारणका लागी रोल मोडल हुन् । हो २०४७ सालदेखि जालझेल गरेर पालैपालो अवसर कुम्ल्याउन पल्केकाहरुलाई प्रधानमन्त्रीको अडान, भिजन र सक्रियतापतिको इश्र्याले नै यो अवस्था आएको हो । सरकार परिवर्तन हुनु महत्वपुर्ण कुरा होइन यसको परिणाम के हुन्छ ? चिन्ताको विषय हो । सर्वोच्च अदालतले गरेको निर्णय के.पी. ओलीलाई हटाउन मात्र हुँदैन यो नजिर बन्दछ । नेपाल जस्तो कमजोर प्रजातान्त्रिक संस्कार भएको देशमा सांसदलाई स्वतन्त्र हैसियत प्रदान गर्ने नजिरले कस्तो दुष्परिणाम पर्नेछ, त्यसको हेक्का राख्ने की ?

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Yubaraj sing
Yubaraj sing
3 months ago

यथार्थ लेख।