नेपालकै प्रसिद्ध नेपालगञ्जका जुँगे महादेव

सुमन थापा ‘संगम’

आखिर भगवानको रूप कसैले देखेको छैन र पनि मान्छेले नै बनाएको मूर्तिमा साक्षात् भगवानको रूप देखेर हामी श्रद्धाले शिर निहुराउँछौं। यसरी निहुरिँदा मनमा आनन्द छाउँछ। मैले नेपालगन्ज बाहेक अन्यत्र जुंगा भएका महादेवको मूर्ति देखेको छैन १ तपाईंले देख्नु भएको छ कि ? साउन अर्थात् शिवजीको महिना। वास्तवमा हामी नेपाली वर्षैभर भगवानप्रति आस्था राख्छौं। सत्कर्म गर्नु नै भगवानलाई पूज्नु हो।

जुँगे महादेवका बारेमा लेख्न मन लागिरहेको थियो। लेख्नका लागि धेरै कुरा मनमा आए। जब ती कुरा लेख्न बस्थेँ तब सागरको छालझैं एकैपटक हुत्तिँदै आउने कुराहरू तिनै छालले सर्लक्क सोहोरेर आफूसँगै लैजान्थे। अहँ म छोप्नै सक्दिनथें र फेरि रित्तो हुन्थें।

दिनहरू वित्दै गए। लामो समयको अन्तरालमा फेरि नेपालगन्ज जाने मौका जुरेकाले लेख्नुपर्ने कुराले फेरि झक्झक्यायो। समयले कति छिट्टै फड्को मार्छ पत्तै नहुने१ हिजो जस्तै लाग्छ महादेव मन्दिर अघिल्तिरको बाटो भएर नेपालगन्जको मुख्य शहर त्रिवेणीमोड, त्रिभुवनचोक हुँदै स्कुल गएको। म हिन्दू संस्कारमा हुर्किएकी भएर होला मन्दिर र भगवानको मूर्ति देख्यो कि दुई हात जोडेर नमस्कार गर्न मन लागिहाल्छ। त्यसैले सधैं टाढैबाट भए पनि शिवजी र बागेश्वरी मातालाई नमस्कार गर्थें।

अग्लो न अग्लो मूर्ति। उभिएर दायाँ हातले त्रिशूल समातेको, मोटो जुङ्गा भएको, गाजल लगाएको ठूलो आँखा, निधारमा तेस्रो कालो आँखा ! तेस्रो आँखालाई दायाँबायाँ आँखाकै आकारमा रातो टिकाले सजाएको र तेस्रो आँखासँगै दायाँ जोडिएर माथीपट्टि फर्किएको चन्द्रमा भएको, टाउकोको लामो कपालमा सीताराम लेखिएको फेटा बाँधेको। र फेटा माथि फँणा फिँजाएको सर्प लिएर उभिएको महादेवलाई देख्दा सानोमा नजानिँदो गरि मनमा डरले घर गथ्र्यो। कतै मैले गल्ती गरें भने पक्कै पनि देख्छन् होला भन्ने लाग्थ्यो।

सानो छँदाको त्यो डर पनि मलाई सहि बाटोमा हिँडाउने एउटा अस्त्र रहेछ भन्ने बुझ्दै गएँ। अचेल धम्बोझी चोकबाट मन्दिर जान घरबारीटोलहुँदै जाने धम्बोझीचोकको मूल बाटोमै बागेश्वरी मन्दिर प्रवेशद्वार भनेर ठूलो गेट लगाइएको रहेछ। म त्यहीँ बाटो हुँदै मन्दिरमा पुगेँ। मन्दिर नजिक छेउमा पुगेपछि उभिएर कहिले नदेखेझैँ वरपरका सबै बुट्टयान छेउमै वर्षौदेखि राखेको पूजा सामग्रीका पसलहरू उही र उस्तै लाग्यो। मन्दिरमा पूजा अर्चना सकिसके पछि भोक लाग्थ्यो त्यो समयमा भोक मेटाउने त्यहाँको खाजा हलुवा पराठा प्रख्यात छ । मन्दिर छेउ बसेर बेच्ने पूजा सामग्री, मिठाइ पसल भोक मेटाउने हलुवापराठाको पसल सबै उस्तै नै थियो।

साँच्चै मन कहिले पनि बूढो हुँदैन। त्यहाँ उभिएर हेर्दा मलाई ती पसलका सामानहरू किन्न मन लाग्यो। उही पहिले जस्तो कालो धागोमा सजाएर उनेको माला, पित्तलका मसिना औँठी र पूजाका सामान फूल, अक्षता, ध्वजा र अबिर। उभिएर ती उस्तै सामानहरू हेरिरहेकी थिएँ, एउटा माग्ने केटो मेरो सामु आइपुग्यो अनि मेरो तन्द्रा भत्कियो।

म तलाउ नजिक पुगें र नियालेँ मज्जाले। उही पहिले जस्तै हरियो पानी बोकेर तलाउले पनि आउने जानेहरूलाई हेरिरहेकै थियो। कुनै फरक थिएन त्यो तलाउ र तलाउको मोहनी लाग्ने बैँस।तलाउको दायाँ किनारमा उभिएको वरको रूखले पनि तलाउको वैशलाई नै पर्खिरहे झैँ गरि वर्षौंदेखि आफूलाई हृष्ठपुष्ठ राख्न उस्तै कलिलो र हरियो पात फेर्न लागेको थियो। बायाँ किनारमा अजम्बरी झैँ उभिएका घरहरू उस्तै थिए। मैले पहिले टेकेको तलाउको छेउ र अहिले हृदयको आँखाले हेर्न खोजेको मेरो उमेर मात्र फरक थियो।

मैले अबेर नगरी तलाउ र जुङ्गे महादेवका विषयमा बुझ्न त्यही मन्दिरका कर्मचारी उन्नाइस वर्षे मनोज वाल्मीकि र पूजारी उमेशनाथ योगीलाई भेटेँ। आफ्ना आँखाले भेटे जति र देखे जति मन्दिरका आकृतिहरूलाई मसिका थोपाहरूले कापिका पानाहरूमा कैद गर्दै गएँ। पूजारीकाअनुसार अठार कठ्ठा जमिनमा तलाउ जमेको छ। तलाउ बिचमा रहेका शिवको मूर्तिसम्म पुग्न असी फुट लम्बाई भएको पुल पार गरेर जानुपर्छ। सो पुल दायाँबायाँ नौ-नौ वटा खम्बाले अड्याइएको रहेछ।

जुङ्गे महादेव पश्चिमतर्फ फर्किएका छन्। लखनउका कालिगढले यो मूर्ति बनाएको र यसमा कुनै फलामको सरिया, कुनै पिलर नलगाई उभ्याइएको रहेछ। महादेव मूर्तिको तल्लो भागमा इनार (कुवा) छ। त्यसको वरिपरि चारवटा पिल्लर छन्। तलाउ बिचमा मन्दिरको पुरै भाग सातवटा पिलरले अड्याइएको छ। असी फिट लम्बाई भएको पुल तरेर म मूर्ति नजिक पुगेँ। सानो छँदा मलाई डर लाग्ने मूर्तिको स्वरुप खूब नियालेर हेरेँ।

बिहानी सूर्य उदाउँदा मूर्तिको पछिल्लो भाग छुने र तलाउको पानीमा एकफेर डुबुल्की मारेर सूर्य आकाश तर्फ उक्लिएर जान्थ्यो। दायाँ हातले त्रिशूल समातेको र पहेँलो गेरू वस्त्रले सम्पूर्ण शरीर ढाकिएको मूर्ति अघिल्तिर सानो शिवलिंग, साँढे, हनुमानजी, कार्तिकेय र गणेश, लक्ष्मीको सिङ्गमरमरको नौ इन्च अग्लाइमा रहेको मुर्तिहरू उही र उस्तै छन्।

दायाँ हातको साइडमा दुई हात गहिरो जल कुण्ड छ। तिर्थालुहरूले चढाएको दूध र जल सोही कुण्डमा गएर पोखिन्छ। छेउ किनारमा रहेका मूर्ति नजिक ‘स्व। श्री भोलानाथ योगी, स्व श्रीमति लक्ष्मी योगीको सम्झना स्वरूप र अर्को कुनामा श्री रावणकृतं शिवताण्डवस्त्रोतम’ भनेर लेखिएका शिलालेख राखिएका छन्। मनमनै लाग्यो आखिर भगवानको रूप कसैले देखेका छैनौं र पनि मान्छेद्वारा नै बनाइएको मूर्तिमा साक्षात् भगवानको रूप देखेर हामी हिन्दू श्रद्धाले शिर निहुराउँछ। यसरी निहुरिँदा मनमा आनन्द छाउँछ।

उक्त मन्दिरको छाना आठ वटा पिलरको सात कुना मिलाएर छत ढलान गरि बनाइएको छ। छतबाट तल तेह्रवटा लामालामा सिक्रीमा झुन्डिएको स–साना घण्टीका झुप्पा छ्न्। ती सिक्रीहरूमा कुनैमा चार वटा र कुनैमा पाँच वटा गरि घण्टीहरू झुण्ड्याइएको छ। सात वटा कुना मिलाएर बनाइएको मन्दिरको बिच भागमा जुङ्गे महादेव उभिएका छन्। मन्दिरको पाँच कुनामा आठ इन्च र नौ इन्च साइजका सिङ्गमर्मरका स–साना मूर्ति छन्।

मन्दिर भित्रको मूर्तिलाई वरिपरि सानो पर्खालले छेकेर त्यो पर्खाल माथी बुट्टेदार फलामको पर्खाल लगाइएको छ । तिर्थालुहरूले तेलको बत्ती बाल्नका लागि फलामको पर्खालमा माथिल्लो तहमा चौध(चौध वटा दियो र बिचको घेरामा पन्ध्र-पन्ध्र वटा दियो राखिएको छ। मन्दिरभित्र प्रवेश गर्ने बितिकै दायाँबायाँ भागमा आठ(आठ वटा र त्यसैको बीच भागमा छ(छ वटा गरि नौ वटा कुनामा जम्मा जम्मी दुई सय एकतिस (२३१) वटा दियो राखिएको छ।

निकै सुन्दर लाग्ने मूर्ति र मूर्ति सजावटले मन्दिर परिक्रमा गर्दा मन पनि खुसिले सजिन्छ। मैले नेपालगन्जबाहेक अन्यत्र जुँगा भएका महादेवको मूर्ति देखेको छैन१ तपाईंले देख्नु भएको छ कि ?

मन्दिरलाई बीचमा पारेर वरिपरि बीस फुट गहिरो पानी भरिएको तलाउ छ। उक्त तलाउमा पानी जमिन भित्रबाट आफैं उत्पन्न हुने र त्यो पानी सँधै हरियो नै रहने गरेको पनि त्यहाँका पूजारीद्वयले जानकारी दिनुभयो । मन्दिरको पछिल्लो र अघिल्लो भागको तलाउमा एघार एघार वटा भर्‍याङ राखिएको छ। गहिरो तलाउभित्र भर्‍याङ नजिक पानी भित्र गहिरोमा कोहि मानिस नडुबोस भनेर जालीतारले छेकिएको छ।

तलाउको पूर्वपट्टि सानो पार्क छ। पार्कमा श्रीपेच भएको अग्लो स्तम्भ राखिएको छ र बच्चाहरू खेल्ने चिप्लेटी र पिङ्ग पनि राखिएको छ। केही पर दायाँ साइडमा सरस्वतीको मन्दिर छ। शिवजीको पश्चिमपट्टि बागेश्वरी (वाक्यस्वरी) माताको भब्य मन्दिर छ। वर्षायाममा तलाउको पानी भरिएर शिवजीको पाउ छोएर फेरि आफैं घट्ने कुरा र यो तलाउमा बुलाकी लगाएको कछुवाको जोडी रहेको र केही वर्ष अघि तिनको मृत्यु भएको पनि किम्बदन्ती प्रचलित छ।

बडादशैँको बेला नवदुर्गा अर्थात नवमीसम्म यो तलाउमा नुहाउनेको भिड लाग्छ। तर अचम्मको कुरा प्रत्येक वर्ष कोही न कोहि त्यहाँ पौडी खेल्ने क्रममा होस् या नुहाउने क्रममा होस् यहाँ डुबेर मर्ने गरेका छन्। बागेश्वरी मन्दिरका पूजारी उमेशनाथ योगीकाअनुसार तलाउले मानव भोग खान्छ। त्यसैले डुब्ने गर्छन्। डुबेको देख्ने बितिकै पाँचरदश मिनेटमै निकाल्यो भने भेटिएला नत्र त्यही ठाउँमा गोताखोरहरू गएर खोज्दा पनि भेटिँदैन र पुनः एक-दुई घण्टाको अन्तरालमा फेरि त्यही ठाउँमा शव भेटिन्छन् भन्ने कुरा उहाँले बताउँदा मलाई अनौठो लाग्यो।

हजारौं वर्ष अघिदेखि हिन्दू धर्मको अभ्यास हुँदै आएको छ। मानव जीवनमा आत्मस्वतन्त्रता महत्वपूर्ण रहन्छ। त्यसै क्रममा कसैले धर्ममाथि अत्यधिक रुपमा बिश्वास गर्नु र कसैले नगर्नु आत्म स्वतन्त्रता हो तर धर्मकै नाममा विभेद र साम्प्रदायिक हिंसा हुनु हुँदैन। यथार्थमा मानिसमा हुने पाँच इन्द्रियहरू र मन सकारात्मक स्वच्छ रहनुपर्छ। शास्त्रीयमा स्वस्तिक चिन्ह देख्न पाइन्छ। हिन्दूका हरेक मन्दिरमा देख्न पाइने स्वस्तिक चिन्हको अर्थ पनि खुसी रहनु हो। धर्मले पनि खुसी र सकारात्मक रहन सिकाउँछ।

मानिस आफैंमा कहिल्यै पूर्ण हुँदैन तर हरसम्भव आफूलाई पूर्ण र चलायमान बनाउन जीवनका यावत अप्ठेराहरूसँग संघर्षरत रहन पनि कैयन पटक मनले भगवानको सम्झना गर्न पुग्छ र सत्यप्रति अडिग बनाउँछ। यतिबेला हामी साउने झरीमा छौं। चारैतिर हरियाली छ। साउन अर्थात् शिवजीको महिना। हामी नेपाली वर्षैभर भगवानप्रति आस्था राख्छौं। वास्तवमा सत्कर्म गर्नु नै भगवानलाई पूज्नु हो।

यस आलेखमा मैले जुँगे महादेवका बारेमा लेखें, आगामी दिनमा बागेश्वरी माताको विषयमा लेख्नेछु। शक्तिपीठ मध्येका एक नेपालगन्जका जुँगे महादेवलाई नमस्कार ! शब्द तथा तस्बिर साभार : सेतोपाटी डटकमबाट

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments